कुलेखानीको ठेकेदारलाई कालोसूचीमा राख्ने कुलमानको चेतावनी

90

काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरण परीक्षणको काम १५ दिनभित्र सकिने जनाएको छ ।

आयोजना निर्माणस्थलमा शनिबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।

आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने ठेकेदार र परामर्शदाता कम्पनीहरुले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान गरिदिएको छ ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । ‘विद्युतगृहको टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब–करिब सम्पन्न भइसकेको छ, अहिले उपकरणहरुको ड्राई टेष्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ,’ घिसिङले भने, ‘जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं ।’ आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भएको छ ।

घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरे कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।

‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु,’ उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिए । ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने रु योभन्दा ठूलो अपराध के हुन सक्छ रु’

कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने भएको छ । कम्पनीले श्रमिकहरुलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here