दाङ / तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फर्छ्यौट गरेका
छन् ।
उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १८४ गरी जम्मा ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फर्छ्यौट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जिम्मेवारी सरेर आएका ३७३ र नयाँ दर्ता भएका ३३४ गरी ७०७ थान मुद्दामध्ये ४२८ थान अर्थात ६०.५३ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो ।
गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा २.७८ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको छ । छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रूपमा निवेदन लेखिदिने व्यवस्था गर्नाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइ समयमै प्रभावकारी रूपमा मुद्दा छिन्न सफल भएको उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले खुलासा गरे ।
उनका अनुसार, थुनुवा, तथा असहाय, आर्थिक रूपमा विपन्न बालबालिका, र महिलाका मुद्दामा वैतनिक कानून व्यवसायीको व्यवस्था गर्नाका साथै न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत र न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रूपमा भइरहेको जानकारी दिए ।


















