प्रदीप गिरि भन्छन्- गहुँ र धानको फरक छुट्याउन नसक्ने हाम्रा पिएचडी अर्थमन्त्री

293

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको जनाएका छन् । संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका कारण विकास हुन नसकेको जनाएका हुन् ।

विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरूलाई अर्थमन्त्री बनाउनुका कारण मुलुकको विकास हुन नसकेको धारणा राखेका थिए । उनले भने, ‘अर्थमन्त्रीको पद विशेषज्ञताको पद होइन । लामो समययता, कांग्रेसको समयमा पनि बाहिरबाट पढेर आएका पिएचडी गरेका गहुँ र धानको फरक थाहा नपाउने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाइए ।’

आर्थिक ‘वृद्धिदरको धारणाको मोह छोड्नुस्, यदि तपाई सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने । वृद्धिदर अलग शब्द हो । विकास अलग शब्द हो । सँगसँगै आम जनताको उन्नति अलग शब्द हुन्,’ उनले भने, ‘सिद्धान्तका हिसाबले कुरा गर्दा तपाईले संकेत गर्नुभएको दिगो अर्थव्यवस्थाको सिलसिलामा वृद्धि दरको मोह र माया छोडेर वैकल्पिक उर्जामा तपाई कति खर्च गर्ने वाला हुनुहुन्छ त्यो बताउनुहोस् मलाई ।’

वीपी कोइराला प्रारम्भमा अलमलिए पनि पछि विकासको मोडल नेपालका लागि उपयुक्त नभएको भनी अस्वीकार गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसपछिका सरकारले पनि अमेरिका वा जर्मनीबाट पिएचडि गरेकाहरु नै अर्थमन्त्री बनाउने गरेकाले मुलुकको विकास सही ढंगले अघि बढ्न नसकेको जिकिर गरे ।

गिरिले भने, ‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित वृद्धि दरको अंग्रेजी प्रवेश भयो ।

उनले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा दर्ता गरेको विधेयकको विरोध गर्दै तत्कालिन सोभियत संघमा नागरिक अधिकार नभएकै कारण मुलुक र रुसी कम्युनिस्ट पार्टी अहिलेको अवस्थामा पुगेको स्मरण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here