खुल्लमखुल्ला यौन क्रियाकलाप बार्गेनिङ रोक्ने

265

काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो । जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ गरेको छ । सोमबार राति पक्राउ परेकाहरूमध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासमेत रहेका डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको जानकारी दिए। उनले प्रहरीको अभियान नै काठमाडौंलाई क्लिन गर्ने रहेको समेत प्रस्ट पारेका हुन् ।

‘सार्वजनिक स्थलमा हुने अनैतिक क्रियाकलाप र आपराधिक गतिविधिलाई क्लिन गर्ने योजनाअन्तर्गत यो अभियान सुरु गरिएको हो, अब यो अभियान निरन्तर अघि बढ्छ,’ काठमाडौं प्रहरी प्रमुख सुवेदीले जानकारी दिएका छन् । प्रहरीले आइतबार मात्रै राजधानीका करिब एक दर्जन स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै १ सय २५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १ सय ९ जना पुरुष र १६ जना महिला थिए ।

परिसरका डीएसपी बोगटीका अनुसार प्रहरीले यौनजन्य क्रियाकलापका लागि खुल्लमखुल्ला बार्गेनिङ हुने स्थानमा त्यस्ता गतिविधिलाई पूर्ण रूपमा रोक्न भन्दै सादा पोसाकका प्रहरीसमेत खटाएको छ । त्यस्तै, महिला प्रहरीलाई समेत सादा पोसाकमै खुल्लमखुल्ला बार्गेनिङ हुने स्थानमा पठाएर यौन गतिविधिमा संलग्नलाई पक्राउ गर्ने रणनीति परिसरले लिएको
छ ।

प्रहरीले राजधानीको नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, वीर अस्पताल, जमल, बागबजार, चाबहिल, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा ‘स्ट्रिङ अपरेसन’ निरन्तर चलाइने जनाएको छ । अनैतिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरूबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको भन्दै प्रहरीले राजधानीबाट पूर्ण रूपमा अनैतिक क्रियाकलाप बन्द गर्ने र सामाजिक विकृति रोक्ने लक्ष्य सो अभियानमार्फत लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here