पत्रकारितामाथि प्रश्न उठ्न नदिने जिम्मेवारी पत्रकारकै हो

171
Nisha Tamang

–निशा तामाङ
यस्तो पनि हुन्छ पत्रकारिता ? यदाकदा प्रेस जगतप्रति आम मानिसको मुखबाट यस्तै प्रश्न गरेको सुनिन्छ । यथार्थमा प्रेस जगत समाजको ऐना हो । राज्यको चौथो अङ्गको रुपमा रहेकोे प्रेस जगतको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै विषय हो । आदर्श समाज निर्माणमा पत्रकार एवं सञ्चारकर्मीको निकै नै महत्वपूर्ण भूमिका हुन्छ । तर पछिल्लो समय नेपालमा पत्रकारिता पेशा बदनाम बन्दै गइरहेको अवस्था छ । यसबाट सबैलाई पत्रकरिता र यो क्षेत्रमा कार्यरत पत्रकारहरुप्रति नकारात्मक भाव प्रकट हुँदै आइरहेको पाइन्छ । प्रेस भन्नाले सत्य र तथ्य घट्नाहरूमा आधारित सहि समाचार सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु हो । पत्रकारितामा राष्ट्रियतापक्षीय, जनपक्षीय र देश विकासको भावना हरेक पत्रकारमा हुनु जरुरी हुन्छ । पत्रकारले सही विषयवस्तु सम्प्रेषण गरेर समाजमा हुने गलत गतिविधिलाई रोक्न समाजको ऐनाको रुपमा प्रस्तुत हुनु पर्दछ । अरुले देख्दा सामान्य लाग्ने घटना र विषय वस्तु पनि पत्रकारका लागि समाचार सामग्री बन्न सक्दछ ।

नेपालको परिप्रेक्षमा भन्नु पर्दा पत्रकारितामा अहिले एक किसिमको छाडापन बढ्दै गएको पाइन्छ । सही समाचार सम्प्रेषण गर्ने नभएर भ्रामक सूचना समेत फैलाउनेहरूदेखि कसैको चरित्र हत्या, अमर्या्दित भाषाको प्रयोग र आधारहिन समाचारको सम्प्रेषणले सम्मानजनक मानिएको यो पेसा अपमानित कलंकित हुँदै गइरहेको छ । पत्रकारिता क्षेत्रमा लागेका सबै पत्रकार तथा सञ्चारमाध्यमले सम्मानजनक पत्रकारितामा आचारसंहिता पालना गर्नुपर्ने देखिन्छ । पत्रकारले नै आचारसंहिता विपरीत कार्य गरेर समाजमा नकारात्मक सूचना प्रवाह भइरहेको छ । यसप्रति पत्रकारले आफ्नो भूमिका आचारसंहितामा रहेर आफूलाई स्वनियमन गर्दै कार्य गनुपर्ने देखिन्छ ।

पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुग्ने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको पक्षमा जनतामा जागरण ल्याउने महत्वपूर्ण जिम्मेवारी हुन आउँछ । त्यसैगरी विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु पनि पत्रकारको आचरण विपरित हुन्छ । पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।पत्रकार तथा सञ्चारमाध्यमले पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्या्दित भाषाको प्रयोग गर्नुपर्दछ ।

समाजमा हिंसा, आतंक र अपराधलाई प्रश्रय पुग्ने गरी समाचार सम्प्रेषण गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन भनेर पत्रकारलाई आचारसंहितामा रहन प्रशिक्षण पनि जरुरी हुन्छ । पत्रकारले आफ्नो सञ्चारमाध्यमको चर्चा गराउने उद्वेश्यले असत्य समाचार लेखेर कसैको विरोध गर्ने मात्र होइन, यथार्थमा राज्यको चौथो अङ्गको जिम्मेवारी बुझेर हरेक क्षेत्रलाई मार्गदर्शन गर्न पनि सक्नु पर्दछ । सत्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य हो । पत्रकारितामा प्रवाह गर्ने सूचना सत्यतथ्यमा आधारित र देश विकासका निम्ति हरेक क्षेत्रमा रहेको समस्याको समाधानका सुत्र समेत दिनसक्ने हैसियतको हुनु पर्दछ ।

पत्रकार तथा सञ्चारकर्मीले पत्रकार आचारसंहिता पालना गर्दै दैनिक अभ्यास गर्नसके नेपाली पत्रकारिताको भविष्य अझै आशालाग्दो हुनेछ । कलम चलाउने पत्रकारको कलम बलियो हुनुपर्छ भनेझैं पत्रकारको हक हित र अधिकार पनि सोही अनुरूप हुन जरुरी छ । पत्रकार र सञ्चारमाध्यम स्वयंले यस क्षेत्रमा स्वनियमन गर्न जरुरी छ । पत्रकार स्वंयले आफ्नो आचारसंहिता निर्वाह गर्न सकेन र पत्रकारितालाई गलत ढङ्गले सम्प्रेषण गर्न थाल्यो भने पत्रकारिता निरह बन्न जाने सम्भावना हुन्छ । पत्रकारहरुले पत्रकारिताकै माध्यमबाट गर्ने गलत क्रियाकलापलाई आधार बनाएर नै सत्ता पक्षले निषेधकारी मानसिकता बनाउन थालेको पनि देखिन्छ । यस्तो निषेधकारी मानसिकताबाट सरकारलाई खबरदारी गर्न प्रेस जगतलाई नै लज्जानुभूति हुने गरी पत्रकारले आचारसंहिता उल्लघंन नगर्नुमा स्वयम् प्रेस जगतको हित देखिन्छ ।- [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here