काठमाडौं / नेपाली कांग्रेसले मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धी विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी दिएको छ ।

















