नेपाल कसैसँग वैरभाव नराख्ने नीति अनुसार अघी बढेको छः प्रधानमन्त्री

147
प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मूल नीतिमा आधारित रहेर वाह्य सम्बन्धहरूमा सक्रिय अग्रसरता प्रदर्शन गरिरहेको बताएका छन् । दक्षिण पूर्वी एशियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण सकेर बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले यस्तो बताएका हुन् । नेपालले अवलम्बन गरेको नीतिले बाह्य जगतमा नेपालको छवि उदाउँदो अर्थतन्त्र, स्वाभिमानी राष्ट्र र ऊर्जावान एवं कर्मशील नागरिकहरूको देशको रूपमा उज्यालो बन्दै गएको प्रधानमन्त्री ओलीको दाबी छ। भ्रमणहरूले यसमा अझ बल पुर्‍याए प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले मुलुकले हासिल गरेको ऐतिहासिक राजनीतिक रूपान्तरण र राजनीतिक स्थायित्वको जगमा तीव्र आर्थिक रूपान्तरण हासिल गर्नु र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्नु यति बेलाको एक मात्र उद्देश्य भएको बताए । यसका लागि अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति निर्माण गर्नु बाह्य सम्बन्धको सार र विदेश नीतिको मुख्य पक्ष भएको उनको भनाई थियो । उनले भियतनाम र कम्बोडियाको भ्रमण उपलब्धिपूर्ण भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here