गुवाहाटी / भारतको गुवाहाटीमा सोमबारदेखि सञ्चालन भएको दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा छ पटककी विश्वविजेता एमसी मेरी कमसँग नेपालकी माला राई पराजित भएकी छन् ।
मंगलबार भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ५१ केजी तौल समूहअन्तर्गत उनले पराजय व्यहोरेकी हुन् । मालाले इन्डिया ‘सी’की मेरीसँग युनिनमस नतिजाको आधारमा पराजित भइन् । उनी ५—० अंकले पराजित भएकी हुन् । खेल समय भर निकै नै उत्कृष्ट प्रदर्शन गरेकी उनले जित भने निकाल्न सकिनन् ।
मेरी अघिल्लो संस्करणकी स्वर्ण विजेता पनि हुन् । इन्डियन बक्सिङ फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन् । जसमध्य चारजना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् । मंगलबार नै हुने अन्य खेलहरुमा नेपालकी पुनम रावल र मिना गुरुङको खेल हुन बाँकी छ ।

















