‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात

383

काठमाण्डौं- शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले चलचित्रको शुभ मुहूर्त गरेका थिए । यो चलचित्रको छायांकन जेठको १३ गतेबाट सुरु हुनेछ भने कात्तिकको ८ गतेबाट यो चलचित्र रिलिज हुने निर्माण टिमले घोषणा पनि गरेको छ ।

यो चलचित्रमा नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई श्रीमान्–श्रीमतिको भूमिकामा देख्न पाइनेछ । साथमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि भूमिका रहनेछ ।

चलचित्रको मुख्य पात्रमा फिट हुने भएकाले सौगातलाई रोजिएको निर्देशक राणाले जनाए। शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

नायिका पूजा शर्माले चलचित्रको कथा निकै नै राम्रो रहेकाले काम गर्न लागेको जनाइन् । यस्तै, नायक आकाश श्रेष्ठले पनि चलचित्रको कथावस्तुले छोएको सुनाए । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले पनि कथालाई नै चलचित्र छनोटको मुख्य आधार मानेका छन् ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रलाई कमेडी कथावस्तुमा निर्माण गर्न लागेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here