पोखरा– फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने भएको छ । पोखरा महानगरपालिकाले बिहीबार सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउने भएको हो ।
‘मापदण्डभित्र बनेका संरचना हटाउन १५ दिनको समय दिएका छौं,’ पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरमा एक्सनमा जान्छ ।’
ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा संरचना हटाउने उनले जानकारी दिए ।
ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चको फैसलाले आदेश दिएको थियो ।
सूचनालाई बेवास्ता गरि आलटाल गरेर संरचना नहटाए महानगर आफैंले हटाउन परेमा जति संरचना छन् भत्काउने उनले सुनाए ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गएको वर्ष बैशाख १६ गते सर्वोच्चले फैसला गरेको थियो । आदेशमा फेवातालको ६५ मिटर मापदण्डटर कायम गर्न-गराउन उल्लेख गरिएको छ ।
गएको माघ १० गते गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन सदस्यिय समिति समेत गठन गरिएको छ ।