-प्रीति रमण
बितेको शनिबार अर्थात जेठ ४ गते गौतम बुद्धको २५६३ औं जन्मजयन्ती मनाइएको छ । बुद्धको प्रशंसा नगर्ने कोहि भेटिदैन । सबैले बुद्धलाई आफ्नै बनाउने प्रयास गरेको पाइन्छ । नेपाली भूमिमा जन्म लिएका सिद्धार्थ गौतमले पछि बुद्धत्व प्राप्त गरेपछि उनलाई गौतम बुद्धका नामले चर्चामा ल्यायो । गौतम बुद्धलाई बुद्धत्व प्राप्त हुनुमा उनको आफ्नै क्षमता हो वा त्यो भूमि जहाँ उनले बुद्धत्व प्राप्त गरेका थिए । त्यो भूमिको विशेष कारण छ ? यो महत्वपूर्ण प्रश्न यस कारण बन्न पुगेको छ कि सिद्धार्थ गौतमले भारतीय भूमिमा बुद्धत्व प्राप्त गरेको भन्ने दाबी भारतीय पक्षको रहेको छ । यथार्थमा सिद्धार्थ गौतम कहाँ जन्मेका हुन् अथवा कहाँ बुद्धत्व प्राप्त गरेका हुन् भन्ने विषय त्यति महत्वपूर्ण हो जस्तो मलाई लाग्दैन । सिद्धार्थ मायादेवीको गर्भबाट जन्मेका हुन् र उनले राजपरिवारको विलासी जीवन मन पराएनन् । यो नै वास्तविकता हो । यो वास्तविकतालाई कसैले पनि तोडमरोड गर्न सक्ने अवस्था छैन । त्यसैले सिद्धार्थ गौतम राजपरिवारको जीवनलाई परित्याग गर्दाकै अवस्थामा उनीमा बुद्धत्व प्राप्त भएको कुरा पुष्टि गर्न सकिन्छ । उनीमा बुद्धत्व प्राप्त नभएको भए राजपरिवारको विलासी जीवन परित्याग गर्ने चेतना अवश्य पनि आउने थिएन ।
गौतम बुद्धको सन्देशलाई पछ्याउनेहरुका लागि गौतम बुद्ध वास्तवमै कसैका निजी होइनन् भन्ने बुझ्न कठिन नहुनु पर्ने हो । गौतम बुद्ध संसारकै साझा व्यक्तित्व भइसकेका छन् । भगवानकै रुपमा समेत मानव जगतले स्वीकार गरिसकेको व्यक्तित्व बनेका छन् गौतम बुद्ध । यस्ता महान व्यक्तिले जन्म लिएको भूमि नेपाल हो भन्ने कुरामा कसैको विमति छैन । नेपालको पनि तराई क्षेत्र गौतम बुद्धको जन्मस्थल भएका हुनाले हामी तराईवासी नेपालीहरुमा बुद्धप्रतिको विशेष अपनत्व हुनु स्वाभाविक हो । भारतीय भूमिमा बुद्धत्व प्राप्त भएको भनी बुद्धलाई आफ्नो स्वामित्वमा लिन चाहनेहरुले पनि बुद्धको जन्मभूमि नेपाल भएको कुरामा विवाद गर्न सकेका छैनन् । त्यसैले नेपाली भूमिमा जन्म लिएका यी महान व्यक्तित्वलाई अन्य कुनैपनि व्यक्तिसंग तुलना गर्न अनुपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ ।
बितेको शनिबार काठमाडौंमा आयोजित दुईवटा कार्यक्रमहरुमा सहभागी हुने अवसर प्राप्त भएको थियो । एउटा त्रिचन्द्र क्याम्पसमा र अर्को नेपाल ल क्याम्पसमा आयोजना भएका थिए । दुवै कार्यक्रममा सहभागी भएर फरक विचारहरुको प्रस्तुती सुन्दा मलाई नेपालको भाविष्य त्यति सहज छ जस्तो लागेन । त्रिचन्द्र क्याम्पसमा धेरैजसो वामपन्थी पृष्ठभूमि भएका नेता र कार्यकर्ताहरुको उपस्थिति थियो । त्यहाँ उपस्थित नेताहरु मध्ये सोनाम साथी र नारायण शर्माले गौतम बुद्धका बारेमा निकै घतलाग्ने कुरा गर्नुभएको सुनियो । गौतम बुद्धलाई कार्ल माक्र्ससंग तुलना गरेर पनि उहाँहरुले आफ्नो विचार राख्नुभयो । आ–आफ्ना विचार स्वतन्त्र छन् । उहाँहरुका विचारमा सहमति जनाउनै पर्छ भन्ने बाध्यता छैन । तथापि गौतम बुद्धले मानव समाजलाई दिनुभएको सन्देश वास्तवमै मानवीय छ भन्ने कुराको खण्डन कसैले गर्न सकेको छैन । तर, कार्ल माक्र्सले राख्नुभएका वर्ग संघर्षको अवधारणासंग असहमत हुनेहरु प्रशस्तै छन् । गौतम बुद्धले अहिंसाको कुरा गर्नुभएको छ । तर कार्ल माक्र्सले परिकल्पना गर्नुभएको वर्ग संघर्षमार्फत अहिंसाको परिकल्पना सम्भव हुँदैन । त्यसैले कार्ल माक्र्सको वर्ग संघर्षबाट सामाजिक न्यायको वकालत र गौतम बुद्धको अहिंसाको सन्देश धेरै फरक छन् भन्ने मलाई लाग्दछ ।
गौतम बुद्धकै चर्चा गर्ने अर्को कार्यक्रम नेपाल ल क्याम्पसमा आयोजना गरिएको थियो । त्यहाँ पनि गौतम बुद्धको बारेमा चर्चा परिचर्चाहरु भए । तराई–मधेश राष्ट्रिय परिषद्को आयोजनामा गरिएको विचार मन्थनको सो कार्यक्रममा राजनीतिक विश्लेषकहरु सिके लाल र युग पाठकका विचारहरु प्रस्तुत भएका थिए । त्यहाँ पनि सिद्धार्थ गौतम र गौतम बुद्धका फरक पक्षलाई विश्लेषण गरिएको थियो । सिद्धार्थ गौतम कहाँ जन्मिएका थिए र उनले बुद्धत्व कहाँ प्राप्त गरेका थिए भन्ने बारे विश्लेषण गर्ने क्रममा वक्ताहरुले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो । सिके लालले आफ्नो विश्लेषणमा सिद्धार्थ गौतम मधेशको लुम्बिनीको कपिलवस्तुमा जन्मिएको दाबी प्रस्तुत गर्नुभयो । उहाँको प्रस्तुतीमा असहमत हुने ठाँउ नभएपनि सिद्धार्थ गौतम जन्मिँदा नेपाल भन्ने देश थियो कि थिएन भन्ने प्रश्न पनि उठाउनु भएको सन्दर्भ भने अलि नबुझिएको पक्ष लाग्यो । नेपालभित्रको तराई क्षेत्रलाई नै मधेश भन्ने गरिएको हो भन्ने कुरा स्पष्ट छ । मधेशमा जन्म भएका सिद्धार्थ नेपालमा जन्म भएका हुन् भन्न संकोच मान्नुपर्ने कुनै कारण भएजस्तो मलाई लाग्दैन । हामी नेपालीहरुले गर्वका साथ भन्न सक्नुपर्छ सिद्धार्थ गौतम अर्थात गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् । संसारले स्वीकार गरेको यो वास्तविक तथ्यलाई हामी नेपालीहरुले नै विवादमा ल्याउनु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।
गौतम बुद्धले प्राप्त गरेको बुद्धत्वका सन्देशहरु महत्वपूर्ण कुरा हुन् । आज गौतम बुद्धलाई भगवानका रुपमा स्वीकार गरिएको छ । संसारभरी बुद्ध धर्मको विस्तार भइरहेको छ । बुद्ध धर्मको विस्तारका लागि कसैले पहल गरेको पनि देखिदैन भने यो धर्मको विरोध पनि कसैबाट भएको पाइदैन । त्यसैले बुद्ध धर्म शान्तिप्रेमी मानव समुदायका लागि निकै खुशीको कुरा हो । यो कुनै सीमा भित्र बाँधिएको छैन । यो कुनै जाति र धर्मको संकुचन भित्र बाँधिएको पनि छैन । यस्तो महान व्यक्तित्वले जन्म लिएको नेपाली भूमि हामी सबै नेपालीहरुका लागि झनै गौरवको विषय हो । [email protected] – जनधारणा साप्ताहिक


















