काठमाडौं / प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हासिल गरेको छ ।
उद्घाटन खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित ग¥यो । २७९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन मात्रै बनाउन सफल भयो ।
प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन बनायो भने साम्सद शेखले १६ र शुधिर चौधरीले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यान सस्तैमा समेटिदा प्रदेश २ ले आफ्नो पहिलो खेलमा नै फराकिलो अन्तरले हार ब्यहोरेको हो ।
बलिङतर्फ शाहब आलमले चार विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, सुशान भारीले तीन विकेट लिदा जितेन्द्र मुखियाले दुई विकेट लिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । आर्मीको ठूलो स्कोरमा राजु रिजाल, विनोद भण्डारी र रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।
ओपनिङमा आएका राजु र कप्तान विनोदले पहिलो विकेटका लागि १२१ रनको साँझेदारी गरेका थिए । २१.१ ओभरमा विनोद ६६ रनमा आउट भयो । क्रिजमा टिकी रहेका राजु शतक बनाउनबाट १० रनले चुकेका थिए । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए । खेलमा आर्मीका लागि रोहितकुमार पौडेलले ४७ रन बनायो भने अर्धशतक बनाउनबाट चुकेका रोहितले ३६ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, हरि चौहानले २६ रन बनाएका थिए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।


















