काठमाडौं / सगरमाथाको उचाई नापेर फर्केका नापी टोली सदस्यहरु काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । सगरमाथको उचाई नाप्न सोलुखुम्बु गएको टोली काठमाडौं फर्केको छ ।
प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली गत जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । चुचुरोमा १ घण्टा २० मिनेट बसेर उचाई मापन सम्बन्धी काम गरेर टोली फर्केको थियो ।
टोलीमा गौतमसहित नापी अधिकृत रवीन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल, छिरिङ शेर्पा थिए ।
शुक्रबार मन्त्रालयमा गरिएको एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी मन्त्री पद्माकुमारी अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतले सगरमाथा आरोहण गरेर फर्किएको सो टोलीलाई फुलमाला र टिका लगाएर स्वागत गरेका थिए ।
उनीहरुले नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्ने काम सम्पन्न भएकोमा बधाई दिएका थिए ।
बधाई ज्ञापन कार्यक्रममा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापनको आधारभूत काम सकिएपछि झन्डै ६ महिनाको हाराहारीमा आधिकारिक तथ्याङ्क आउने जानकारी दिइन् ।
उनले सरकारले पहिलोपटक आफ्नै स्रोत साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भएको भन्दै यो नेपालीहरुको लागि गौरवको कुरा भएको जनाइन् ।
उनले भनिन्– ‘अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन । यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो । आरोहण र मापनको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैँले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुनेछ ।’
भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्नेबारे विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको थियो ।



















[…] […]