निषेधको राजनीति हत्या चरणमा प्रवेश

162

काठमाडौं / नेपालको राजनीतिमा अब शान्तिको आशा नगरेपनि हुने अवस्था विकसित भइरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन् । १० वर्ष सशस्त्र युद्ध लडेका नेताहरू सत्तासीन भएको वर्तमान अवस्थामा अधाफ्नै राजनीतिक एजेण्डा बोकेका पूर्व सहकर्मीहरूप्रति सत्तासीन नेताहरू आक्रामक बनेपछि स्थिति हिंसातर्फ उन्मुख देखिएको छ । सत्तामा पुगेका पूर्व सहकर्मीहरूको राजनीतिक गतिविधिप्रति असहमति जनाउँदै नयाँ जनवादी क्रान्तिको माध्यमबाट मुलुकको परिवर्तन गर्ने लक्ष्यसहित राजनीतिक आन्दोलनमा लागेको विप्लव नेतृत्वको नेकपा हाल प्रतिबन्धित भएको छ । विप्लव नेतृत्वको नेकपाले जनताले उठाएका माग सम्बोधनका लागि आफ्नै पूर्व सहकर्मी समेत सहभागी रहेको सत्तारुढ नेकपालाई चूनौति दिएपछि सरकार माग सम्बोधन गर्नुभन्दा पनि विप्लवमाथि प्रतिबन्ध लगाएर निषेधको राजनीतितर्फ अग्रसर भएको छ ।

एनसेलको मुख्यालयमा नेकपाले बम विष्फोट गराउँदा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि सरकार विप्लव माथि निकै आक्रामक हुँदै गइरहेको थियो । यसबीचमा विप्लव नेकपाका उच्चस्तरीय नेता सहित सयौँ नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । सरकारले विप्लवका कार्यकर्ता पक्राउ गर्न आदेश दिएपछि विभिन्न ठाउँमा प्रहरीले गोली समेत चलाउने गरेको छ । यही जेठ ७ गते मंगलबार मात्र विप्लवका कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले भोजपुरमा गोली चलाउँदा घाइते भएका तीर्थराज घिमिरेको मृत्यु भएको छ । घिमिरेलाई मंगलवार भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले गोली चलाएको थियो । गोली लागि गम्भीर घइते भएका उनको थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि पहिलो पटक विप्लवका कार्यकर्ता प्रहरीको गोलीबाट मारिएका छन् । निषेधको राजनीतिले मुलुकको हित गर्दैन भन्ने १० वर्ष लामो अनुभव हुँदा हुँदै पनि तत्कालीन विद्रोही सहितको वर्तमान सरकारले विप्लवमाथि जबरजस्ती प्रतिबन्ध र निषेध लगाउनुको परिणाम मंगलबार एक जनाको मृत्यु हुन पुगेको छ । सरकारको प्रतिबन्धका बाबजुद पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव निकै संयम देखिदै आएको पाइन्छ । आफ्ना नेता कार्यकर्ताहरू लगातार पक्राउ भइरहे पनि विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि गरेको पाइएको छैन ।

यसैपनि विप्लवका गतिविधिहरू विशेषगरी भ्रष्टाचारी, दलाल र घुसखोरीप्रति आक्रामक भएकाले यसले अन्तत सहयोग पुग्ने सरकारलाई नै थियो । जबकी सरकारले विप्लवप्रति जबरजस्ती गरिरहेको निषेधले सरकार भ्रष्ट, दलाल र सामन्तहरूलाई नै जोगाउन केन्द्रीत देखिएको पुष्टि हुँदै आइरहेको छ । गलत क्रियाकलाप गर्नेलाई आफैले पनि कारबाही अघी नबढाउने र कुनै राजनीतिक शक्तिले मुलुक र जनताको हितका लागि काम गर्छु भन्दा पनि निषेध र प्रतिबन्धलाई नै निरन्तराता दिँदै दमन र हत्यामा उत्रनुले सरकारले कसका हितका लागि काम गर्दैछ भन्ने प्रश्न खडा भएको छ । शान्तिपूर्ण ढंगले राजनीति गरिरहेको दलमाथि प्रतिबन्ध लगाउँदै गिरफ्तार, दमन, यातना र हत्याको अवस्थासम्म पुग्नुले राज्यले नै मुलुकमा पुनः युद्धको वातावरण बनाउन खोजिरहेको विप्लवको आरोपलाई पुष्टि गर्दै गइरहेको छ । यसले लामो प्रयास पछि युद्धको अन्त्य गर्दै शान्तिपूर्ण ढंगले अघी बढ्दै गरेको नेपाल पुन युद्धको चपेटामा पर्न सक्ने सम्भावना देखिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपाप्रति जुन किसिमको आरोप लगाउँदै प्रतिबन्ध गर्दै आइरहेको छ, वास्तविकतामा विप्लवका गतिविधि भने त्यस्ता देखिएका छैनन् । सत्तासीन नेकपाप्रति सर्वत्र निराशा उत्पन्न भइरहेको अवस्थामा वैकल्पिक कम्युनिष्ट शक्तिका रूपमा देखिएको कुनैपनि शक्तिलाई अघि बढ्न नदिने सत्तासीन नेकपाका नेताहरूको उद्धेश्य बुझ्न सकिन्छ । विप्लव नेतृत्वको नेकपा अहिले पनि सकेसम्म हिंसात्मक बाटोमा अघि नबढ्ने पक्षमै देखिउको छ । तर सरकारले सो पार्टीप्रति एक पछि अर्काे गर्दै दमन र कार्यकर्ता हत्यासम्म पुगेपछि भने परिस्थिति केही जटिल हुने सम्भावना पनि देखिएको छ । विप्लव हरेक ढंगले शान्तिपूर्ण बाटोमा अघी बढ्न खोजे पनि सरकारले उनको पार्टीमाथि गरिरहेकोे दमनलाई निरन्तरता दिँदै गएमा त्यसको जवाफ दिनुपर्ने दबाबमा विप्लव पुग्ने अनुमान अवश्य पनि गलत हुन सक्दैन ।

गृहमन्त्रालयले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूलाई खोजी खोजी गोली चलाउने आदेश प्रहरीलाई दिएको छ । यसमा विप्लवकै पूर्व सहकर्मी जो हाल सत्तामा रहेका छन्, उनीहरूको राजनीतिक ‘इगो’ले काम गरिरहेको बुझ्न सकिन्छ । व्यक्तिगत इगोले देशलाई हिंसामा धकेल्ने सम्भावना बढ्दै गएको छ । सत्तारुढ नेकपा र प्रतिबन्धित नेकपाबीचको भिडन्तले मुलुक चेपुवामा पर्ने खतराको संकेत भइरहेको छ । यस्तो अवस्थामा सडक तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले अत्यन्त विवेकशील भएर सत्तासीन नेकपा र सत्ताबाट जबरजस्ती युद्धमा धकेल्न खोजिएको विप्लव नेकपालाई विवेकपूर्ण र संयमतापूर्वक वार्तामा ल्याउन सदवुद्धिको प्रयोग गर्न जरुरी देखिन्छ ।-जनधारणा साप्तहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here