सगरमाथाको चुचुरोमा किन यसरी जाम हुन्छ ?

296

सगरमाथा व्यापारिक पर्वतारोहण हुने संसारकै लोकप्रिय हिमाल हो । यसको आरोहण पर्वतारोहणको वास्तविक मर्मअनुसार भने हुँदैन । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाकाअनुसार सगरमाथामा पैसा तिरेर अरुको सहायतामा आरोहण गरिन्छ । यो व्यापारिक आरोहण हो । त्यसकारण यहाँ कुनै पनि प्रकारको जोखिम मोलेर कसैले पनि आरोहण गर्दैनन् । किनकी त्यहाँ प्रोफेसनल आरोहीभन्दा कीर्तिमानका लागि आउने आरोही धेरै हुन्छन् ।

प्रतिकूल मौसम हुनासाथ आरोहीलाई क्याम्प मै राखिन्छ । जब मौसम खुल्यो भन्ने जानकारी आउँछ, त्यसपछि एकसाथ सबै आरोही अगाडी बढ्छन् । जसले गर्दा बाटोमा आरोहीको लामो जाम हुन जान्छ ।

एउटा मात्र रुट

सामान्यतया आरोहण गर्दा आफैं बाटो बनाउने, रुट खोज्ने र चढ्ने गरिन्छ । यसलाई वास्तविक शाहसिक आरोहण मानिन्छ । सगरमाथामा यसरी आरोहण गर्ने अनुमति छैन । रुट बनाउने कम्पनीलाई सरकारले अनुमति दिन्छ । उसले जुन रुट बनायो, सबै आरोहीले त्यसलाई पच्छ्याउनै पर्छ ।

एउटै रुटबाट धेरै आरोही उकालो लाग्दा ट्राफिक जाम देखिने गरेको पूर्वअध्यक्ष शेर्पा बताउँछन् । ‘अरु हिमालमा आरोहीले आफ्नो रुट आफै बनाउँदै चढ्न सक्छन् तर, सगरमाथामा त्यसको अनुमति छैन,’ उनी भन्छन्, ‘त्यसकारण मौसम खुलेका बेला एउटा मात्र बाटोबाट धेरै आरोही उकालो लाग्दा जाम देखिनु सामान्य हो ।’

कति सुरक्षित छ आरोहण ?

व्यापारिक आरोहीहरुको लोकप्रिय हिमाल रहेका कारण पनि सगरमाथालाई सकेसम्म सुरक्षित राख्ने प्रयास गरिन्छ ।

पूर्वअध्यक्ष शेर्पा भन्छन्, ‘काठमाडौंबाट वेसक्याम्पसम्म हेलिकोप्टरमा लग्यो, मौसम नखुलेसम्म वेसक्याम्पमा खुवायो, राख्यो, खुलेपछि अगाडी एक जना, पछाडी एक जनाको सहायतामा चुचुरो पुर्‍यायो, फोटो खिच्यो, फर्कियो, ठूलै दूर्घटना नभएसम्म अहिले सगरमाथामा जोखिम छैन ।’

मौसमसम्बन्धी अपडेट लिने अत्याधुनिक प्रविधिसमेत भित्रिसकेका कारण सगरमाथा सुरक्षित बनेको छ ।

कति आरोही पुगे चुचुरोमा ?

जारी सिजनमा शुक्रबारसम्म झण्डै ४ सय ५० आरोही चुचुरो पुगिसकेको अनुमान पर्यटन विभागको छ । शुक्रबारपछि भने मौसम बिग्रिएकाले केही दिन आरोहण बन्द हुने आधार शिविरबाट सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । ‘सम्भवतः २७ तारिखमा बाँकी रहेका आरोही चढ्छन्,’ अनलाइन खबरबाट ।

यसवर्ष ४४ समूहका ३ सय ८१ आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । उनीहरुका साथमा शेर्पा र सहयोगी आरोही पनि चुचुरो पुग्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here