काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
शनिबार पर्वतमा आयोजित महायज्ञमा बोल्दै महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने जनाएका हुन् ।
‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’
धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि उनले जनाए ।
उनले भने, काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ ।
महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आईरहेका छन् । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ पर्वतमा महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

















