विमानस्थलको नक्कली भारु बरामद प्रकरण रहस्यमय बन्दै

193

काठमाडौं /  त्रिभुवन विमानस्थलमा गत शुक्रबार बिहान ८:२४ मा ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट बरामद गरिएको थियो । नक्कली भारु बरामद प्रकरण  रहस्यमय बन्दै गएको छ ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको नक्कली भारतीय नोट बरामद प्रकरणको घटनाक्रम हेर्दाखेरि युनुसले प्रहरीले पक्राउ गरेको भन्दा पनि उनले आफ्नै रहरले आत्मसमर्पण गरेजस्तै खुलासा भएको छ । भारतीय पक्षको तारो बन्दै आएका युनुसले जेलबाट छुटेपछि आफूलाई असुरक्षित ठान्दै आएका थिए । उनले काठमाडौंको जेलभित्रै रहँदा पनि भारतीय सुटरको आक्रमणमा परेर मुस्किलले ज्यान जोगाउन सफल भएका थिए । त्यसबेला अन्सारीमाथि अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले गोली हान्न सजित सिंहलाई लगाएको सार्वजनिक भएको थियो ।

किन दिए युनुस अन्सारीले आफैं गिरफ्तारी ?

युनुस अन्सारी बाराका पूर्वमन्त्री एमाले नेता सलीम मिया अन्सारीका छोरा हुन् । उनी पहिलो पटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो ।

अनुसन्धान अधिकारीहरुका अनुसार अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन् । ‘उनीहरुको भाषामा यसलाई बुगी पनि भनिन्छ’, ती अधिकारीले भने, ‘नेपालसम्म रकम ल्याइसकेपछि विभिन्न ठाउँमा रहेको सञ्जालमार्फत थोरै थोरै परिणाममा भारततिर पैसा पठाउने गरेको देखिन्छ ।’

हरेक पटक भारतीय नक्कली नोट बरामद हुँदा प्रत्यक्ष वा परोक्ष रुपमा युनुसको संलग्नता देखिने गरेको प्रहरी अधिकारीहरुले दाबी गर्दै आएका छन् । युनुस एकपटक वा दुईपटक मात्र होइन, पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । पछिल्लो पटक २ फागुन ०७४ मा उनी नख्खु कारागारबाट छुटेका थिए । थुनामुक्त भएको एक वर्षपछि शुक्रबार उनी ७ करोड बढी नक्कली नोटसहित पुनः नाटकीय ढंगले पक्राउ परेका छन् ।

अन्सारीको पक्राउ यसकारण पनि प्रहरीलाई सहज भयो कि उनी ७ करोड नक्कली नोटका ‘भरिया’ जसरी विमानस्थल पुगेका थिए । अघिल्ला घटनामा चाहिँ राजधानीको विभिन्न ठाउँमा बसेका बेला ‘भरिया’ मार्फत उनीकहाँ प्रहरी पुग्थ्यो । तर, योपटक पाकिस्तानी नागरिकले ल्याएको नक्कली नोटको सुटकेश लिन उनी आफैं विमानस्थल पुगे ।

आतंकवाद र गम्भीर प्रकृतिको अनुसन्धान गर्ने निकाय विशेष ब्युरोका एक कनिष्ठ अधिकारीले अन्सारी आफैं आत्मसमर्पण गर्न आए जस्तो देखिएको जनाए । उनले भने,  ‘यो त लु मलाई समात् भनेको जस्तो देखियो !’

अनुसन्धान अधिकारीहरु सालो र सवारी चालकलाई समेत अन्सारी आफैंले प्रहरीलाई फोन गर्न लगाएको हुनसक्ने आशंका गर्छन् । ‘नत्र पटकपटक जेल पक्राउ परिसकेर जेल पुगिसकेको व्यक्ति आफैं विमानस्थलसम्म पुग्नु आवश्यकै थिएन’, एक सुरक्षा अधिकारीले भने, ‘यसले थुप्रै शंका गर्ने ठाउँ दिएको छ । जुन विषयमाथि गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’

विमानस्थलबाट समातिएपछि पत्रकार सम्मेलनमा उपस्थित हुँदा समेत अन्सारी मुस्कुराइरहेका थिए । उनको गुहारमा गिरफ्तार हुँदा कुनै ग्लानीको भाव थिएन । बरु पक्राउ परेकी महिला भने आफूलाई केही थाहा नभएको जानकारी गराइरहेकी थिइन्।

माक्स समेत नलगाई ढाका टोपीमा सजिएर पत्रकार सम्मेलनमा उपस्थित भएका अन्सारीले आफूले माक्स लगाउनु आवश्यकै नभएको जनाए । डीआईजी थापा भन्छन्, ‘हामीले माक्स लगाउन आग्रह गरेका हौं । तर, उनैले मानेनन् ।’

अन्सारीले पुनः पुरानै समूहबाट थ्रेट महसुस गरेपछि सुरक्षित हुन आत्मसमर्पणको बाटो अपनाएको हुनसक्ने प्रहरीले पुष्टि गरेको छ । उनी भन्छन्, ‘अहिले भारतमा नरेन्द्र मोदीको जीत भएपछि त झन् उनले असुरक्षित महसुस गरेको हुनसक्छ ।’

तर, अन्सारीको गतिविधि ओपन सेक्रेट भइसकेका उनले मोदीको जीतरहारभन्दा पनि उनी जुनसुकै वेला पनि थ्रेटमा रहने कतिपय अधिकारीको बुझाइ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here