काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । अष्ट्रियाको राजधानी भियनामा आगामी जेष्ठ १४ गते सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान उपराष्ट्रपति पुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए ।
उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन् ।
















