काठमाडौं / बाबु र छोराको कथामा आधारित नेपाली कथानक चलचित्र ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मबाबुको छोराप्रतिको प्रेम अनि छोराले नबुझ्दाको कथा ट्रेलरमा देखाइएको छ। कथामा किशोरअवस्थाको प्रेमको चित्रण पनि गरिएको छ।
दार्जिलिङको सेरोफेरोमा बुनेको कथा आप्पा हो। ट्रेलरमा दार्जिलिङको जनजीवन देखाइएको छ। कथामा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिएका छन्। उनका छोराका रुपमा सिद्धान्त राज तामाङ छन्। यी दुईसँगै अलोना काबो लोप्चा, तुल्सी घिमिरे, अरुणा कार्की पनि छन्। उक्त चलचित्रलाई रुदेन सादा लोप्चाले निर्माण गरेका हुन् । कथा लेखन निर्देशन अनमोल गुरुङले गरेका छन्। चलचित्रका कलाकार दार्जिलिङबाट पनि रहेका छन्। चलचित्र असार १३ गतेदेखि देशैभर प्रदर्शनमा आउँदै छ।


















