काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् ।
गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हो । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे ।
उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’–उनले थपे ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ । उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’
यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने,‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’
त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो । उनले भने,‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने,‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’
शनिबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै डा. लोहनीले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ । यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन् । बजेटमा आम्दानीको कुरा जो छ, त्यो बढेको छैन । लगानी वृद्धि हुन सकेको छैन् ।’
उनले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ ।
लोहनीले बजेटले मुलुकका मूल समस्याहरुलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने,‘अहिले राजश्व दुरुपयोग भैरहेको छ । भ्रष्टाचार दिनदिनै बढिरहेको छ । आर्थिक अनुशासन छैन । यी सबै कुरालाई नियन्त्रण गर्ने लक्षण देखिएन ।’
सरकारले भ्रष्टाचारलाई शुन्यमा झार्ने भनेर दाबी गरेपनि व्यवहारमा त्यो नदेखिएको उनको टिप्पणी छ । उनले भने,‘वाईडबडी जहाजमा ५ अर्बको भ्रष्टाचार भएको छ । तर, सरकारले अहिलेसम्म जाँचबुझ आयोग बनाएर अलमलाउने काम गरेको छ । यसबाटपनि देखिन्छ कि सरकारले भ्रष्टाचारमा कति शुन्य सहनशिलता अपनाएको छ भनेर ?’
त्यस्तै, उनले नेपालमा अर्को मुख्य समस्या भनेको औकातभन्दा बढि खर्च गर्ने काम भएको पनि गुनासो पोखे । सरकारले सांसदलाई दिने पैसा खारेज गनुपर्नेमा पैसा दिएकोमा उनले आक्रोश पोखे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’
अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे ।
उनले भने,‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन्।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ ।
उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्वको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे ।


















