निर्धारित पोशाकमा नआउने कर्मचारीले हाजिर गर्न नपाउने

224

तनहुँ- तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए।

‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।’

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले जनाए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले जनाए । शुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिए पनि आगमी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको छ उनले जनाए ।

सबै कार्यालयमा विद्युतीय हाजिर

भानुनगरपालिकाभित्र रहेका सबै कार्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरेको छ । भानु नगरपालिकामा रहेको १३ वटै वडा, स्वास्थ्य एकाइ कार्यालय, माध्यमिक विद्यालय २० वटा र चार प्राविधिक क्याम्पसमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।

नगरपालिकाले सबै भानुका १३ वटै वडा कार्यालयमा इन्टरनेटको सुविधा मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here