पाँचथर- हिलिहाङ गाउँपालिका–४, पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्याका मुख्य आरोपी २० वर्षीय पदम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जनाए । लुकिछिपि बसेका तामाङलाई झापा प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक कुँवरले जनाए ।
स्थानीय सिद्ध मावि कक्षा–१० मा अध्ययनरत शितलको बैशाख २९ गते हत्या भएको थियो । प्रहरीका अनुसार शितलको उनका प्रेमी तामाङले साथी भगिरथ बाँस्तोलाको समेत सहयोग लिएर हत्या गरेका थिए । घटनापछि बाँस्तोलालाई प्रहरीले पक्राउ गरे पनि मूख्य आरोपी तामाङलाई पक्राउ गर्न नसक्दा जिल्लाका नागरिक समाज, मानवअधिकारकर्मी र विद्यार्थी संगठनले दबाब दिंदै आएका थिए ।
शीतल र पदमबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट सिर्जना भएपछि हत्या गरेको जनाइएको छ । मूख्य आरोपी पक्राउ परेसँगै घटनाबारे बाँकी कुरा समेत खुल्ने प्रहरीले जनाएको छ ।


















