पिसाबबाट इँटा बनाउने

182

दक्षिण अफ्रिकाको केपटाउन विश्वविद्यालयका केही विद्यार्थीहरूले पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै एक नयाँ प्रयोग गरेका छन् । उनीहरूले मानिसको पिसाब प्रयोग गरी इँटाको उत्पादन गर्न सफल भएका छन् । त्यसक्रममा मानिसको पिसाबमा बालुवा र ब्याक्टेरिया मिसाए । जसबाट सामान्य तापक्रममै मजबूत इँटा बनाउन उनीहरू सफल भए ।

केपटाउन विश्वविद्यालयमा ती शोधार्थीहरूका सुपरभाइजर डायलन रेन्डलका अनुसार पिसाबबाट इँटा बनाउने यो प्रक्रिया समुद्रमा मुगा बन्ने प्रक्रियाजस्तै हुन्छ । सामान्य इँटा भट्टीहरूमा काँचो इँटालाई निकै उच्च तापक्रममा पकाइन्छ । जसका कारण निकै धेरै कार्वनडाइ अक्साइड उत्पादन हुन्छ र त्यसले पर्यावरणमा नोक्सान पुर्याउँदछ ।

पिसाबबाट इँटा बनाउने यस प्रक्रियामा सबैभन्दा पहिले विश्वविद्यालयको पुरुष शौचालयबाट पिसाब संकलन गरियो । उक्त पिसाबलाई जैविक प्रक्रियाका लागि प्रयोग गरिन्छ, जसलाई बायो ब्रिक्सको नाम दिइन्छ ।

एउटा इँटा बनाउनका लागि २५ देखि ३० लिटर पिसाबको आवश्यकता पर्दछ । अर्थात् एकजना मानिसले १ सय पटक गरेको पिसाबबाट एउटा इँटा बनाउन सकिन्छ । पिसाबबाट इँटा बनाउने यस प्रक्रियालाई माइक्रोबायल कार्बोनेट प्रेसिपिटेसन भनिन्छ । त्यसक्रममा प्रयोग हुने ब्याक्टेरियाले एक विशेष इन्जाइम पैदा गर्दछ, जसले पिसाबबाट युरियालाई छुट्टाउँदछ र क्याल्सियम कार्बोनेट बनाउँदछ । यसले बालुवाका कणलाई एक आपसमा दह्रोसँग एकत्रित गरी बलियो इँटाको रूप दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here