काठमाडौं / ओशो तपोवनलाई दिएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिने भएको छ ।
सरकारले १३ वर्षअघि दिएको वनक्षेत्र तपोवनले धार्मिक वनमा प्रतिकूल असर पर्ने संरचना ठड्याउनुका साथै सरकारी वन निजी बनाएको सरकारको आरोप छ ।
तपोवनले आफूखुसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर आर्थिक मुनाफा हुनेखालका गतिविधि मात्र चलाएको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले जनाए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ मा ‘वातावरणमा प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रूपमा हानिरनोक्सानी हुने गरी जलाधार क्षेत्रमा भूक्षय हुने गरी रूख कटान गर्न नपाइने’ व्यवस्था छ ।
त्यस्तै मध्यवर्ती धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले मध्यवर्ती धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसके संरक्षकले त्यस्तो धार्मिक वन फिर्ता लिन सक्ने उल्लेख छ ।
वन फिर्ता लिने निर्णयअघि सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायलाई स्पष्टीकरण पेस गर्न १५ दिनको म्याद दिनुपर्ने व्यवस्थाअनुसार यसअघि नै त्यो मौका दिइएको तर स्पष्टीकरण चित्तबुझ्दो नभएको कुँवरले जनाए ।
‘भौतिक संरचना आफूले नभई सडक विभागलगायत सरकारी निकायले बनाएको भन्दै ओशो तपोवन पन्छिएको छ,’ उनले भने । निकुञ्जको ‘गोलढुंगा–जितपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति’ का अध्यक्ष निराजन तामाङका अनुसार तपोवनले जैविक विविधता विनाश गरेर ठूल्ठूला संरचना र सडक बनाउनुका साथै व्यापार सञ्चालन गरेको छ ।
उक्त धार्मिक वनसमेत सदस्य रहेको समितिमा ९ वटा सामुदायिक वन छन् । धार्मिक वनभित्र कार्ययोजना बनाएर मात्र व्यवस्थापन अघि बढाउनुपर्नेमा तपोवनले निकुञ्जबाट स्वीकृत नै गराएको छैन । न त नवीकरण गराएको छ ।
नागार्जुन वनक्षेत्र निकुञ्जमा गाभिनुअघि जिल्ला वन कार्यालय, काठमाडौंले २०६२ पुस १५ मा ३७ रोपनी क्षेत्र धार्मिक वनका रूपमा तपोवनलाई हस्तान्तरण गरेको थियो ।
धार्मिक हिसाबले महत्त्व बोकेको, परम्परादेखि नै धार्मिक स्थल र समुदाय रहेको वनक्षेत्र थप संरक्षण होस् भनेर हस्तान्तरण गर्न सकिने वन ऐन २०४९ मा व्यवस्था भए पनि तत्कालीन जिल्ला वन अधिकृतले त्यसविपरीत हस्तान्तरण गरेका थिए ।
तपोवनका नाममा रहेको १७ रोपनी निजी जग्गा भने बढेर २२ रोपनी हुन पुगेको छ । उनका अनुसार ५ रोपनी जग्गा तपोवनले धार्मिक वनभित्रबाटै निजीमा गाभेको हो । वन कार्यालयले २०७२ सम्मका लागि भाडामा वन हस्तान्तरण गरेको थियो । मुड्खु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ता समूहले उपभोग गर्दै आएको वनक्षेत्र सम्बद्ध उपभोक्तालाई थाहै नदिई तपोवनलाई दिइएको खुलेको छ ।
तपोवनले २०४७ सालमा नागार्जुनमा संरचना बनाएर ओशोप्रेमीहरूको भेला गर्न थालेको हो । धार्मिक वनभित्र आफूखुसी संरचना बनाउनु मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीविपरीत भएकाले धार्मिक वन खारेज गरी मुड्खु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ता समूहमै गाभ्न समितिले वन मन्त्रालय र निकुञ्ज विभागसँग माग गरेको छ ।
गोलढुंगा–जितपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले डेढ वर्षअघि नै तपोवनलाई दिइएको वनभित्र नियमविपरीत संरचना निर्माण र जैविक विविधता विनाश भएको भन्दै खारेज गर्न आवाज उठाएको थियो । तत्कालीन वनमन्त्री शंकर भण्डारीले अनावश्यक विरोध नगर्न दबाब दिएपछि आफूहरू चुप लाग्न बाध्य भएको अध्यक्ष तामाङले बताए । उनले भने, ‘मन्त्री, सचिव र विभागमा सबैलाई हामीले पहिलेदेखि नै ध्यानाकर्षण गराए पनि सुनुवाइ भएन ।’ तपोवनले शक्तिकेन्द्रको आडमा धार्मिक वनभित्र नियमविपरीत ठूला सडक, पुल र पर्खाल निर्माण गरिरहेको स्थानीयको भनाइ छ । कान्तिपुर



















This is not fair to treat like nothings Osho is very nice agency or club . Osho relive all the poor citizens people and even needy people .Osho is good to me as human welfare
Osho compassionate to the world wide human beings
Osho specially trained those people who were wonderfully want to need to constant on there republic life. I am very much ok with osho speech and osho guide of my way .
Think POSITIVE do positive