काठमाडौं / सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ। शीर्ष नेताहरुबीच जिम्मेवारी बाँडफाँटमा कुरा नमिलेपछि यसअघि पटक-पटक स्थगित बैठक मंगलबार अपराह्नदेखि सुरु भएको हो ।
आजको बैठकमा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल र निर्णय हुने जनाइएको छ। यसका अलावा सरकारको कामको समीक्षा, पार्टी एकता टुङ्ग्याउने र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषयमा पनि बैठकमा छलफल हुनेछ।
बैठक शनिबारका लागि निर्धारित गरिएको थियो । बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो। तर, कार्यविभाजनका विषयमा नेताहरुबीच सहमति नजुटेपछि अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका हुन्। विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ। पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ। वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन्। अन्य महत्त्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन।

















