महान् फुटबलर डीएगो म्याराडोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हाल्ने इच्छा व्यक्त गरेका छन्। केही वर्षयता आफ्नो साख गुमाएको म्यान युनाइटेडलाई लयमा फर्काउने दावी म्याराडोनाको छ। म्याराडोनाले हाल मेक्सिकोमा दोस्रो श्रेणीको क्लब सम्हालिरहेका छन्।
उनी भन्छन्, ‘यदी म्यान युनाइटेडलाई प्रशिक्षक चाहिएको छ भने म तयार छु। मलाई थाहा छ म्यान युनाइटेडले विश्वभर आफ्नो जर्सी बेचेर पर्याप्त पैसा कमाउँछ तर उसले उपाधि जित्नु आवश्यक छ। म उनिहरुलाई उपाधि जिताउन सक्छु।’
म्याराडोनाले म्यान युनाइटेडको टोलीमा केही परिवर्तन गर्ने पनि जनाए । ‘यदी मलाई प्रशिक्षणको जिम्मा दिइने हो भने पल पोग्बालाई टोलीबाहिर राख्छु। उनि पर्याप्त मिहेनत गर्दैनन्’, म्याराडोना भन्छन्।
सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षण सम्हालेका म्याराडोनाका ज्वाई सर्जियो एगुएरो आबद्ध म्यानचेस्टर सिटीले गत सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो। म्याराडोनाले म्यान सिटीको प्रसंशा गर्दै आएका छन्। तर उनले भनेका छन्— लामो समयदेखि म्यान युनाइटेड मलाई मनपर्ने इङ्लिस क्लब थियो। सर एलेक्स फर्गुसनको प्रशिक्षणमा धेरै प्रतिभावान खेलाडीले म्यान युनाइटेडबाट खेले।’
सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा मुख्य खेलाडी रहेका म्याराडोना पटकपटक विवादमा आइरहन्छन्। इङ्लिस प्रिमियर लिगको कीर्तिमानी उपाधि विजेता म्यान युनाइटेडले ६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन। पछिल्ला ६ सिजनमा उसले एकपटक एफए कप र एकपटक युरोपा लिग जित्नु नै प्रमुख सफलता हुन्।
म्यान युनाइटेडले फर्गुसनले क्लबलाई दिलाएको उचाई प्राप्त गर्ने आशामा जोसे माउरिन्होलाई भित्र्याएपनि सोचेजस्तो सफलता हात पार्न सकेन। गत सिजनको बीचमै म्यान युनाइटेडले माउरिन्होलाई बर्खास्त गरेको थियो। त्यसयता म्यान युनाइटेडको प्रशिक्षण ओले गनर सल्सकायरले सम्हालिरहेका छन्।
गत सिजन घरेलु लिगमा छैटौँ स्थानमा रहेको म्यान युनाइटेड आगामी युरोपियन च्याम्पियन्स लिग खेल्न नसक्ने निश्चित भईसकेको छ। ५८ वर्षीय म्याराडोनाले हालसम्म ठुला क्लबको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन्। उनले खेलाडी जिवनमा प्राप्त गरेको उचाईको एक छेउ पनि प्रशिक्षणमा हात पार्न सकेका छैनन्।


















