नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी

247

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले चाईनिज ताईपेसंग १-१ गोलको बराबरी खेलेको थियो ।

फिफा वरियतामा १२५ औं स्थानमा रहेको चाईनिज ताईपेविरुद्ध नेपालले सुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो । १६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १-० ले पछि परेपनि दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो । खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो ।

पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । अभिषेकले यसै साता मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेल नेपालले २-० ले गुमाएको थियो । विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको हो । मुख्य प्रशिक्षक योहान कालिन आएपछि नेपालले चौथो खेलपछि गोल गरेको हो । यसअघिका तीन खेलमा नेपालले गोल गर्न सकेको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here