प्रचण्डले आदर्श बिर्सिए कि मानवियता हरायो ?

179

– राधा बुढाथोकी मगर

दश वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड आजको राजनीतिमा चर्चित पात्र बनेका छन् । युद्ध स्थगन गरी शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै नेपाली राजनीतिका निर्णायक व्यक्तित्व जस्तै बन्न पुगेका प्रचण्डका गतिविधिहरू भने एकपछि अर्को विवादास्पद मात्र बनेका छैनन्, उनको व्यक्तित्वलाई समेत विवादास्पद बनाउने काम भएको छ । उनले जुन वैचारिक आदर्शबाट आफ्नो राजनीतिक व्यक्तित्वलाई माथि उठाए त्यहि राजनीतिक आदर्शलाई आज अलोकप्रिय बनाउने, विवादित बनाउने र जनतामा स्वयम् आफू पनि अलोकप्रिय बन्ने कामलाई उनले प्राथमिकतामा राखेको पाइन्छ ।

पछिल्लो चरणमा नेकपा एमालेसंग पार्टी एकीकरण गरी दुई तिहाई बहुमतको सरकार निर्माण गरेपछि यो सरकारबाट देशलाई आत्मनिर्भर बनाउने कामहरू गराउन सक्ने प्रशस्त आधारहरू बनेको देखिएको थियो । नेपालको राजनीतिको मियो जस्तै बन्न पुगेका प्रचण्डले देशको समृद्धि र जनताको जीवनस्तर माथि उठाउने कुरालाई महत्व दिन छोडेर आफूलाई र आफ्ना परिवारका सदस्यहरूलाई पदीय जिम्मेवारीमा पु¥याएर राष्ट्रलाई दोहन गर्ने अभियानमा लागेको देखिन्छ । छोरीलाई मेयरका साथै बुहारीलाई मन्त्री बनाउन प्रचण्डलाई कुनै आवश्यकता थिएन । प्रचण्डकी छोरी रेणु दाहाल र प्रचण्डकी बुहारी बिना मगर भन्दा कति गुणा बढि राजनीतिक योगदान पु¥याएका नेता र कार्यकर्ताहरू पार्टीमा छँदैछन् । तर प्रचण्डले कार्यकर्ताहरूको मुल्यांकन गरेर जिम्मेवारी दिने कामलाई महत्व दिएनन् ।

प्रचण्डको अर्को अनौठो विवादास्पद क्रियाकलाप देशव्यापी रूपमै आलोचित बनेको छ । प्रचण्डले भ्रष्ट व्यक्तिहरूलाई आफ्नो नजिकमा राखेर उनीहरूकै माध्यमबाट देशमा अराजकता फैलाउने गरेको स्पष्ट भइसकेको छ । निर्माण विकासका क्षेत्रमा होस् वा स्वास्थ्य, शिक्षा र वित्तिय क्षेत्रमा नै किन नहोस् , प्रचण्डको संरक्षण पाएर लूट मच्चाउनेहरूको मनपरी बढेको छ । यहाँ प्रचण्डबाट संरक्षित व्यक्तिहरूको नाम उल्लेख गरेर चर्चा गर्न त्यति आवश्यक लाग्दैन । प्रचण्डले संरक्षण गरेका भ्रष्ट व्यक्तिहरू सर्वोच्च अदालतलाई समेत प्रभावित तुल्याउन सफल भइरहेको पाइन्छ । राजनीतिमा कुनै हैसियत नभएका व्यक्तिहरूलाई राजनीतिक खोल ओढाएर राज्यको महत्वपूर्ण ओहदामा पु¥याउन प्रचण्डले कुनै संकुचन महसुस गरेको पाइएन । त्यसैले पनि प्रचण्ड राजनीतिक मियो हुँदाहुँदै काम नलाग्ने बाँदरको हातको लौरो जस्तो बन्न पुगेका छन् ।

प्रचण्डकै सहयात्रीका रूपमा रहेका नेत्र विक्रम चन्द विप्लवले प्रचण्डलाई चुनौति दिँदै युद्धको कार्यभार सम्हालेका छन् । दश वर्षसम्म प्रचण्डले मच्चाएको हिंसात्मक गतिविधिलाई विप्लवले निरन्तरता दिएका छैनन् । विप्लवले दश वर्षे युद्धका एजेण्डाहरूलाई सम्बोधन गरियोस् भनेर माग गरिरहेका छन् । ती एजेण्डाहरूलाई सम्बोधन गर्न नसकिने अवस्थामा प्रचण्ड अहिले छैनन् । दश वर्षे युद्धमा प्रवेश गर्नुभन्दा पहिले तत्कालीन शेर बहादुर नेतृत्वको सरकार समक्ष प्रस्तुत गरिएका चालिस बुँदे मागपत्रलाई वर्तमान सरकारको कार्यनीति बनाएर अगाडि बढ्न चाहने हो भने असम्भव केही छैन । वैदेशिक सम्बन्धका कुरादेखि लिएर जनजीविकाका कुरासम्ममा चालिस बुँदे मागपत्रले स्पष्ट मार्गदर्शन गर्न सक्दछ । ती मागपत्रलाई सम्बोधन गर्ने हो भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले युद्ध गर्ला भनेर आत्तिनुपर्ने आवश्यकता रहने छैन । कसैले पनि राष्ट्रियताका लागि चिन्ता गर्न नपर्ने गरी सरकारले कार्यदिशा तय गर्न सक्दछ । त्यसका लागि पञ्चशीलको सिद्धान्त नै पर्याप्त छ । पञ्चशीलको सिद्धान्तलाई वैदेशिक नीतिका लागि मार्गदर्शक सिद्धान्त मान्ने हो भने कुनैपनि छिमेकी देश नेपालसंग सशंकित बन्ने वा नेपाललाई गलत तरिकाले दुरूपयोग गर्ने अवस्था रहने छैन । प्रचण्डले वर्तमान सरकारलाई वैदेशिक सम्बन्धका सवालमा पनि अराजक बनाइरहेका छन् । आफू सत्तामा पुग्नका लागि विदेशी शक्तिहरूको चाकडी गर्ने कामलाई प्रचण्डले महत्व दिएर देशको अस्तित्व नै संकटमा पु¥याइरहेका छन् ।

एकातिर विरोधी राजनीतिक शक्तिलाई बलियो हुन नदिन निषेधको नीति अवलम्वन गरिएको छ भने अर्कोतर्फ नेपालको विकासको पूवर्वाधार मानिने जलसम्पदामा विदेशीहरूको प्रभूत्व कायम गराइएको छ । नेपालको विदेश नीति पनि विदेशी शक्ति राष्ट्रहरूकै स्वार्थमा निर्धारित हुने गलत परम्पराको थालनी गरिएको छ । यस्तो अवस्थाले प्रचण्डको दश वर्षे जनयुद्ध मात्र होइन, उनको राजनीतिक जीवन नै शंकाको घेरामा उभिएको स्पष्ट हुन्छ । आफ्ना सहकर्मी नेता र कार्यकर्ताहरूलाई गोली हानेर मार्नेसम्मका गतिविधिहरूको नेतृत्व स्वयम् प्रचण्डले गरिरहेको वर्तमान अवस्थाले प्रचण्डमा राजनीतिक इमान्दारितासंगै मानवियता पनि हराएको आशंका गर्न सकिने भएको छ । त्यसैले प्रचण्ड स्वयम्ले आत्मसमिक्षा गर्नु जरुरी छ । [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here