काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे संसद, विज्ञ र मिडियासँग छलफल हुने बताएका छन् । बुधबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले हाम्रो नीति तय गर्दा राष्ट्रिय आवश्यकत्तालाइ ध्यान दिन्छौं । कसैले प्रस्ताव ल्याउँदैमा हामी जोडिनुपर्छ भन्ने हुँदैन् । हामी राष्ट्रिय हितलाई ध्यान दिन्छौं ।’ भट्टराईले सरकारले संयु्क्त राष्ट्रको वडापत्र, पञ्चशीलको सिद्वान्त, असंलग्न परराष्ट्र नीति, परस्परिक लाभ र राष्ट्रिय स्वार्थका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने पनि जनाए ।
भट्टराईले नेपालको भौगोलिक अवस्थितिका आधारमा यता उता हुने अवस्था नभएको जिकिर गरे । उनले भने,‘हामी राष्ट्रिय हितको आधारमा निर्णय लिन्छौं ।’ ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे नेपालमा चर्चा सुरु भएको सुनाउँदै उनले यस सम्बन्धमा संसद, मिडिया र विज्ञहरुसँग छलफल हुनेपनि विश्वास दिलाए ।
उनले प्रधानमन्त्रीको शनिबारबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।
भट्टराईले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने स्पष्ट पारे । उनले भने,‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकत्ता छ, सोहीअनुसार सहयोग लिनको लागि पनि यो भ्रमण फलदायी हुनेछ ।’
प्रधानमन्त्रीको भ्रमणका बेला द्धिपक्षीय विषयमा पनि छलफल हुने विश्वास दिलाए । भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने पनि उनले जनाए ।
भट्टराईले ब्रिटिश गुर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्नेपनि जनाए । उनले भने,‘बेलायसँगको हाम्रो सम्बन्ध १९४७ को सन्धिले गाईड गर्छ । मलाई लाग्छ यसमा तलमाथि हुँदैन् । तर, यो सन्धिले लामो समय पार गरेको छ । हामी अहिले परिवर्तित परिस्थितिमा छौं । यस सम्बन्धमा छलफल चल्न सक्छ । आ–आफ्नो अपिनिएन राख्न सकिन्छ । तर नयाँ सन्धि तथा सम्झौता गर्ने तहमा हुँदैन ।’
उनकाअनुसार प्रधानमन्त्री ओली जेनेभास्थित आई.एल.ओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ ४० राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ ।
त्यस्तै, प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुनेपनि उनले जानकारी दिए । त्यस्तै, पेरिसमा पनि विभिन्न उच्च तहका भेटवार्ता हुने र नेपाली समूदायसँगपनि भेटवार्ता हुने कायृक्रम तय भएको उनको भनाई छ ।
बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सफल हुने विश्वास दिलाए । यद्धपी उनले विदेश भ्रमण गर्दा द्धिपक्षीय सम्बन्ध, ट्रेड, कमर्स, कल्चरलाई कति महत्व दिईन्छ त्यसमा ध्यान दिनुपर्ने पनि धारणा राखे ।
चालिसेले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्मपनि भ्रमणको एजेण्डा सार्वजनिक नगरिएको बताउँदै आजको सन्दर्भमा गैरआवासीय नेपाली संघलाई रणनीतिक स्रोतको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रविधि र ज्ञान हस्तान्तरण गर्नु आजको महत्व हो । अब गैरआवासीय नेपालीहरुलाई सरकारी तहमा जोड्नुपर्छ । एनआरएनहरुले सेतुको रुपमा काम गर्दै आएका छन् ।’
उनले नेपालको टिआरसी कस्तो हुन्छ ? भन्नेबारे पश्चिामाहरुको चासोको विषय रहेको पनि सुनाए । उनले भने,‘यस्तो अवस्थामा भ्रमणमा जाँदा गृहकार्य गरेर जाँदा नै राम्रो हुन्छ । हिजोमात्रै नेपालका लागि अष्ट्रेलियाका राजदुतले पनि टिआरसीबारे आफ्नो धारणा राखिसकेका छन् ।’
नेपाल–बेलायत सम्बन्ध धेरै पूरा रहेको सुनाउँदै उनले सन् २०१४ मा बनेको कनसर्नट्रेशन मेकानिज्मबारे प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि गरे ।
उनले नेपालले आफ्नो स्ट्राटेजी अटोनोमी बनाउनुपर्ने जोड दिए । उनले भने,‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर आफ्नो विदेश सम्बन्ध अघि बढाउनुपर्छ ।’

















