असार २ देखि नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्ने

222

काठमाडौं  / नेपालले प्रथम पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।

जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि प्रथम पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। ‘नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम सुरू हुनेछ। भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ’, ढकालले भने, ‘जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ।’

उक्त दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने जनाइएको छ । डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटरमाथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ। जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ। यस भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुनेछ।

सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो। मंगलबारदेखि विज्ञान सडक मेला हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले  प्रथम पटक नेपालमा संयुक्त रूपमा दुई दिने ‘विज्ञान सडक मेला २०१९’ आयोजना गर्ने भएका छन्।

समाजमा भएका अनुसन्धान र परिवर्तनका कुरालाई जनमानसमा प्रचार गरी विज्ञान र प्रविधिका माध्यमलाई मनोरञ्जनका साथ अघि बढाउने उद्देश्यका साथ मङ्गलबारबाट जावलाखेलमा उक्त सडक मेला आयोजना हुन लागेको हो।  सो मेलाले सबै उमेर समूहका मानिसलाई विज्ञान देशव्यापी रूपमा आवश्यक रहेको जानकारी दिने नाष्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

मेलामा वैज्ञानिक र सर्वसाधारणबीच विज्ञान, प्रविधि, नवीनता र परिवर्तसम्बन्धी विभिन्न विषयमा चर्चा परिचर्चा हुनेछ’, ढकालले भने, ‘मेलामा उपस्थित सबै उमेरका मानिससँग दोहोरो छलफल गरी धेरैभन्दा धेरै उपयोगी जानकारी हासिल गर्नेछौं।’ सो मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका कामको दस्तावेज, दूरदर्शनका कार्यक्रम, विज्ञानका धुन, खानाका पसल राखिनाका साथै उपस्थित व्यक्तिको जनआवाज संकलन गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here