गर्मीका कारण विराटनगरको दैनिक कष्टकर बन्दै

82

काठमाडौं / केही दिनयताको बढ्दो गर्मीले विराटनगरलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।

गर्मीका कारण सर्वसाधारणको दैनिकीसमेत कष्टकर बन्दै गएको छ। विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ। हावा पानी फिल्ड कार्यालय विराटनगरका अनुसार बिहीबार वैशाख यताकै सबैभन्दा बढी तापक्रम विराटनगरमा मापन गरिएको छ। अधिकतम ३७.३ र न्यूनतम २६.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयका प्रमुख विकास देउजाले जानकारी दिए।

गर्मीकै कारण दैनिक रिक्सा मजदुर, निर्माण मजदुर, सडक मजदुरदेखि बजार क्षेत्रका पसल ब्यापारी समेत बढी प्रभावित बनेकाछन्। दिउँसोको समय मौषम प्रतिकूल हुन थालेपछि सडकमा साइकल, मोटरसाइकल, साना सवारीसाधनको चाप कम हुदै गएको छ। सरकारी कार्यालय, कृषि उद्यम, बजार, पसल एवं सार्वजनिक क्षेत्रहरुमा दिउँसो चहलपहल कम हुन थालेको छ।  महेन्द्र चौकस्थित सनराइज इन्टरप्राइजेजका प्रमुख मधुकुमार राईका अनुसार बढ्दो गर्मीका कारण बजारमा चहलपहल कम भएको छ। सरसमानको विक्रीमा पनि कमी आएको उनको धारणा छ।

त्यसैगरि, कोसी अञ्चल अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मीनारायण यादवले गर्मीले बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित गर्ने जानकारी दिए।यसबाट जोगिन मध्यदिउँसो घरबाहिर ननिस्कने, सकभर छाता तथा खानेपानीसंगै लिएर निस्कनुपर्नेमा उनले जोड दिए।  जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा दैनिक गर्मी उच्च हुदै गएको त्रिभुवन विश्व विद्यालयका वातावरण विज्ञानका उप–प्राध्यापक रामचन्द्र अधिकारीको भनाइ छ।नेपालको तापक्रम वृद्धिदर ० दशमलव ०६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here