काठमाडौं- जर्मनी माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलडीपी)ले केपी ओली सरकारलाई विप्लव नेतृत्व नेकपामाथिको प्रतिबन्ध हटाउन चेतावनी दिएको छ ।
मोनिका गार्टनेर—एन्जेल-सीसीका नामबाट बिहीबार प्रधानमन्त्री केपी वलीलाई सम्बोधन गर्दै एक पत्र लेख्दै विप्लवमाथिको प्रतिबन्धको विरोध गर्नुका साथै उक्त प्रतिबन्ध हटाउन चेतावनी दिएको छ ।
उक्त पत्रमा लेखिएको छ, ‘प्रिय प्रधानमन्त्री केपीशर्मा वली, हामीले नेपाली पत्रिकाहरूबाट नेपाल सरकारद्वारा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थाहा पायौँ । पार्टीमाथि लगाइएको यस्तो प्रतिबन्धले एमएलडीपी व्याकुल र चिन्तित भएको छ ।’
पत्रमा अगाडि लेखिएको छ, ‘हामीले सङ्घीय गणतान्त्रिक जर्मनीमा केपीडी (जर्मनी कम्युनिस्ट पार्टी) माथिको प्रतिबन्धको महत्वपूर्ण अनुभव बनाएका छौं । १९५६ मा प्रतिक्रियावादी एडेनउअर सरकारद्वारा कम्युनिस्ट विचारधाराको प्रभावविरुद्ध निर्दे्शित थियो न किजो नेपालको जस्तै माक्र्सवादी—लेनिनवादी वामपक्षको सरकारद्वारा थोपरिएको थियो ।’
पत्रमा थप भनिएको छ, ‘निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नताहरू रहेका छन् । सम्बन्धित ठोस कामका बारेमा पनि उपयुक्त आलोचनाहरू पनि रहेका छन् तर वामपन्थी शक्तिहरूका बीचमा जहिले पनि बहसलाई आलोचना र आत्मालोचनाको प्रक्रियामा गरिनु पर्दछ । क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा अवश्य पनि साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’
पत्रको अन्त्यमा भनिएको छ, ‘यही चेतनामा, हामी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दछौँ । साथै तपाईंलाई यस निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौँ अथवा हामीलाई थप औचित्य उपलब्ध गराइदिन अनुरोध गर्दछौँ ।’


















