नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा

85

काठमाडौं  ।  नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ।टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो।

यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। औषधि सार्वजनिक गर्दै टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए। विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको उनले जानकारी दिए।

वैद्यले आफ्नो कम्पनी क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरेको छन्। टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपीएएल) संग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो।

वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुनेछ।’

टिजिगले अहिले विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्। यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी वैद्यले जानकारी दिए। उनले अहिले बजारमा जाने उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने उनको योजना छ।

‘अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा पठाएका छौँ। हामी यति मै खुम्चिने होइन। इन्जेक्सन स्वरुपमा पनि जानेछौँ। केही समय लाग्ला। तर त्यो अझ एडभान्स लेभलमा हुनेछ।’ उनले भने।

टिजिग फार्माबाट उत्पादन हुने एन्टी क्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि उनले बताए। नेपालमै औषधि उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुने उनले बताए। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन हुनु खुशीको कुरा भएपनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले यसले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा बलियो आधार बनाएको बताए। औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले उत्पादित औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here