ब्रिगेड ब्वाइज ए डिभिजनबाट घटुवा

60

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साेमबार सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लब सातदोबाटो यूथ क्लबसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले ब्रिगेडलाई ३-२ गोलअन्तरले हारएको हो।  खेलको १३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट नबित्दै ब्रिगेडका बेर्ट्रेन्ड ओट्टोउले गोल गर्दै खेल बराबरीमा ल्याए। १८ औं मिनेटमा सातदोबाटोका दीपकराज सिंह ठकुरीले गोल गर्दा सातदोबाटोले फेरि अग्रता बनायो।

पहिलो हाफमा सातदोबाटो २-१ ले अघि रह्यो।  दोस्रो हाफमा ब्रिगेड फेरि खेलमा फर्कियो। खेलको ५१ औं मिनेटमा रोशन राना मगरले गोल गर्दै बराबरी गरे। तर, ८७ औं मिनेटमा सातदोबाटोका निरज चौधरीले गोल फर्काउँदै सातदोबाटोलाई फेरि अग्रता दिलाए। त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा सातदोबाटोले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो।  पराजयसँगै ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको छ। खेल खेलबाँकी छँदा ब्रिगेडको ७ अंक छ। १२ औं स्थानमा रहेको फ्रेन्ड्स क्लब हेड टू हेडमा ब्रिगेड भन्दा अघि रहेकाले ब्रिगेड रेलिगेशनमा परेको हो।

ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले रेलिगेशनको म्याच भएकाले जित्ने लक्ष्यका साथ आए पनि सफल हुन नसकेको बताए।  ‘म्याच रेलिगेशनका लागि थियो। गोल खाको केसमा कम ब्याक पनि राम्रै भएको थियो। टिमको कमजोरी पनि भयो। आक्रामण गर्दा डिफेन्समा कमजोरी रह्यो,’ उनले रेलिगेशनबारे भने, ‘कमजोरी भनेको ओभरअलमा म्यानेजमेन्टदेखि कोचिङसम्म राम्रै थियो। योङलाई प्रोमोट गर्ने अवस्था भयो आर्थिक अवस्थाले गरेको हो। बी डिभिजनबाट ल्याएका खेलाडीले खेले। सुरुमा राम्रो खेल्यौं। बीचमा ब्रेक डाउन भयो। त्यसले गर्दा हामी रेलिगेशनमा पर्‍यौं।’

अर्कोतर्फ जित निकालेको सातदोबाटो १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। जितका वावजुद आफू खुशी हुन नसकेको सातदोबाटोका प्रशिक्षक मेघराज केसीले बताए।  ‘आज जितको भन्दा पनि कुनै टिम हामीसँग गेमपछि रेलिगेट भएको छ।

आफूले खेलेर ए डिभिजन ल्याएको टोली हामीसँगै हारेर रेलिगेट भएको छ। म खल्लो भइरहेको छ। खुशी हुन सकिरहेको छैन,’ सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘आज आफैँसँग एक प्रकारको प्रेसर थियो। खेलको पाटोमा कुरा गर्दा क्वालिटी हेर्न लायक हुँदैन भन्ने थाहा थियो। हामी त्यस्तो टिमसँग खेल्दै थियौं जो अस्थित्वका लागि लडिरहेको थियो। उनीहरुसँग क्वालिटी गेम हुने कुरै भएन।’

रेलिगेशनमा परेको टीमबारे केसीले भने: च्यासल र बीबीसीको मिहेनत पुगेन। ए डिभिजनमा मिहेनत लगानी कमजोरी देखिएको छ।  आफ्नो टोलीको लक्ष्यबारे भने: सातदोबाटोले यसपाला यो पोजिसन भनेर सोचेको छैन। बेस्ट दिन्छौं। त्यसो गर्दा जुन स्थानमा हुन्छौं त्यसमा खुशी छौं। पहिलो खेलमा रेलिगेशनबाट बच्नुपर्छ भनेर खेलेको माथि जतिमा रहे पनि चित्त बुझाउँछौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here