भरतपुर । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो।
राठौरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ। धादिङ तेस्रो स्थानमा रहेको उनले जानकारी दिए। मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ।
यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठौरले जानकारी दिए। कार्यालयको तथ्यांकानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन्।
प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ। बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन्। सडकका कारण ४८९ वटा दुर्घटना भएको राठौरले बताए। उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ। तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए।
कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन्। जसमा सबैभन्दा धेरै मोटरसाइकल छन्। प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए।
यस्तै कार, जीप २४१, ट्रक ट्यांकर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन्। RSS


















