विकिरणको प्रयोगसम्बन्धी १ महिने तालिम सम्पन्न

43

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालिम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले जनाए ।

तालिममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग बाट १ जना र नेपाल गुणस्तर तथा नापतौल विभागबाट १ जना गरी जम्मा ९ जना प्रशिक्षार्थी रहेका थिए। मन्त्रालय, भौतिकशास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर हस्पिटल, सिभिल हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायबाट प्रशिक्षकहरूको सहभागिता थियो।

मन्त्रालयले ‘ट्रेनिङ मोडुल ट्रेनिङ फर रेडिएसन इन्सपेक्टर वर्किङ एण्ड रेगुलेटरी बडी’ तयार गरी  रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन बमोजिम नियमनकारी निकायको काम गर्दै आएको छ। सोही ऐन अन्तर्गत बनेको नियमावलीमा विकिरण निरीक्षकको व्यवस्था छ। परमाणु विज्ञान वा परमाणु ईञ्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण गरेको, आयोनिकरण गर्ने विकिरणको प्रयोग, संरक्षण तथा सुरक्षा सम्बन्धमा नियमनकारी निकायले निर्धारण गरे बमोजिमको कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

448546586_1660427851462461_7955440409976329252_n-1719396583.png
मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी १ महिने तालीम सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थीहरूलाई बधाई ज्ञापन गरेकी छन्। ‘रेडियोधर्मी पदार्थसँग सम्बन्धित अभ्यास, क्रियाकलाप र संयन्त्रको नियमनमा प्रशिक्षकहरूले भूमिका खेल्नुहोला। यस वर्षको विज्ञान तर्फको एउटा माइलस्टोनमा रहेको यो कार्यक्रम सम्पन्न भएकोमा खुशी छु,’ मन्त्री श्रेष्ठले भनिन्। शिक्षातर्फमात्र होइन विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि पनि मन्त्रालय उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here