काठमाडौं- विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा आइतबार भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।
३ सय ३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३ सय २ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाएको थियो ।
विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानलाई वर्षाले निकै दुःख दियो ।
यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको थियो । भारतको लागि ओपनर रोहित शर्माले १ सय ४० रन बनाएर आउट भए । उनले १ सय १३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।
पहिलो विकेटका लागि रोहित र राहुलले १ सय ३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए ।
बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिएका छन् । भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो। प्रतियोगिता अन्तरगत आज बंगलादेश र वेष्टइन्डिजबीच खेल हुने छ।
















