कैलाली । आइतबारदेखि परेको अविरल वर्षाका कारण भित्र्याउन ठिक्क पारिएको धान बालीमा ठूलो नोक्सानी पुगेको छ ।
कैलाली धान खेतीका लागि पकेट क्षेत्र रहेको भएपनि बेमौसमी वर्षाले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सान पुर्याएको कृषिज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले बताए ।अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिक टन धान उत्पादन भएको भएपनि यस वर्ष बेमौसमी पानीका कारण भएको नोक्सानीले धान उत्पादनमा ५ देखि १० प्रतिशतले कमि आउने उनले बताए ।
यो वर्ष समयमै पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर पाकेको धान भित्र्याउने समयमै पानी परेपछि उत्पादन घट्ने देखिएको छ । धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्न सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने शर्माले बताए ।
उनले किसानहरूले ७० देखि ८० प्रतिशत सम्म धान काटिसकेको बताउँदै बँकी धान समेत काट्ने तयारीमा रहेका किसानहरूलाई केही समय धान नकाट्न आग्रह गरे । अहिले पनि पानी निरन्तर परिरहेका कारण किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन ध्यान दिनु पर्ने केन्द्रका प्रमुख शर्माको भनाइ छ ।
अहिले पाकेर काटेको धानमा पानीले क्षति गरेपछि धेरै किसानहरु चिन्तित बनेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका(२ का दलबहादुर सोबले काटेर राखेको धान बालीमा क्षति पुगेको बताए ।बाली भित्र्याउन नपाउँदै पानीले क्षति गरेपछि धान उत्पादन घट्ने उनको चिन्ता छ । कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

















