काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएका डिआईजीहरुलाई आज गृहमन्त्रालयमा निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्री थापाले शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले प्रतिपक्षले साना विषय पनि उछालिरहेको हुनाले सचेततापुर्वक काम गर्दै जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरि काम गर्न निर्देशन दिएका थिए ।
उनले आफुलाई कर्मचारी मात्र नठानी यो देशको जिम्मेवार नागरिक पनि हुँ भन्ने गरि काम गर्न निर्देशन दिँदै प्रदेश अनुसार फरक फरक समस्या र विशिष्टता भएकाले समग्र देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।
तस्करीका नयाँ रुट खुलेको सुनिने गरेकाले कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गरेकाले त्यसबारे सचेत हुन मन्त्री थापाले निर्देशन दिएका थिए ।
सो अवसरमा मन्त्री थापाले डिआईजीहरुलाई विप्लवका गतिविधि नियन्त्रणमा लिनेगरी काम गर्न, राजावादी र विखण्डनवादीका गतिविधि पनि उच्च निगरानीमा राख्न निर्देशन दिएको गृहश्रोतले जनाए ।


















