काठमाडौं / रियालिटी शो ‘लोक स्टार’ असार १२ गतेदेखि सुरु हुने भएको छ। आइएमई ग्रुपले प्रयोजन गरेको ‘लोक स्टार’ कार्यक्रम हप्ताको प्रत्येक बिहीबार र शुक्रबार बेलुका ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रमको लागत १० करोड अनुमान गरिएको छ। नेपाली संगीतका लागि आइएमई नेपाल लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक संगीत मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने विश्वास लिएको नेपाल लोक स्टारका आयोजक सुदिप थापाले बताए। उनले भने, नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक ‘रियालिटी शो’ हरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित छ।’
यस्तै आइएमई ग्रुपका प्रमुख कार्यकारी निर्देशक सुमन पोखरेलले नेपालको आयोजनामा हुन लागेको आइएमई नेपाल लोक स्टारसँग जोडिन पाएकोमा गौरवान्वित भएको बताए। उनले लोक संगीत प्रवर्द्धनमा र जर्गेनाको निम्ति आफ्नोतर्फबाट सानो प्रयास रहेको पनि जनाए । लोक स्टारको विजेतालाई ५० लाख, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख नगद पुरस्कारको प्रदान गरिने आयोजकले जनाएको छ।


















