धाराबाट रक्सी आउन थालेपछि …

169

एजेन्सी / भान्सामा जडान गरिएको धाराबाट जब पानी झर्नुपर्नेमा मदिरा आउन थाल्यो भने के होला ? सायद रक्सी पिउनेहरूका लागि त ढुङ्गा खोज्दा देउता मिलेजस्तै होला । तर भारतको केरलामा चाहिँ यसले ठूलै हंगामा मच्चाएको छ ।

केरलाको त्रिशूरस्थित चलाकुडीमा रहेको सोलोमोन एभेन्यू अपार्टमेन्टमा बस्ने मानिसहरूका घरको भान्सामा रहेको खानेपानी आउने धारामा जब एकाबिहानै पानीको साटो रक्सी आउन थाल्यो तब मानिसहरू आत्तिए । धारा खोल्दा धाराबाट खैरौ रङको पानी आएको थियो र त्यसको गन्ध रक्सीकै जस्तो थियो ।

अपार्टमेन्टमा बस्ने मानिसहरूले कसैले पानीको ट्यांकीमा रक्सी पो मिसाइदियो कि भनेर अनुमान गरे । तर, जाँचका क्रममा त्यसरी ट्यांकीमा रक्सी मिसाएको देखिएन । अन्तिममा अपार्टमेन्टका बासिन्दाहरूले नगर निगममा उजुरी गर्न पुगे । नगर निगमले गरेको छानविनका क्रममा अन्तशुल्क विभागको गल्तीका कारण अपाटमेन्टका धारामा आउने पानीमा रक्सी मिसिएको पत्ता लाग्यो ।

समाचार अनुसार अन्तशुल्क विभागले बजारबाट जफत गरेको ६ हजार लिटर रक्सी खाडलमा पोखेर नष्ट गरेको थियो । त्यसरी फ्याँकिएको रक्सी त्यहाँबाट बगेर नजिकै रहेको पानीको कुवामा मिसिएछ । उक्त कुवाबाटै सोलोमान एभेन्यू अपार्टमेन्टमा खानेपानी वितरण गरिएको रहेछ । अपार्टमेन्टमा खानेपानी वितरण गरिएको स्रोतमै हजारौं लिटर रक्सी मिसिएपछि अपार्टमेन्टका धाराबाट रक्सी नआउने कुरै भएन ।

त्यो भयानक तथ्यको खुलासा भएसँगै कुवाबाट अपार्टमेन्टमा भएको पानीको आपूर्ति तत्काललाई बन्द गरी कुवाको सरसफाइ गरिएको छ । साथै अपार्टमेन्टमा रहेको ट्यांकी पनि सफा गरियो । कुवाको पानी पिउनका लागि पूर्ण रूपमा स्वस्थ नभएसम्म कुवाको निरन्तर सरसफाइ जारी रहने जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here