एजेन्सी / इथियोपियाका सेनाप्रमुख जनरल सिएर मेकोन्नेनलाई उनका आफ्नै अंगरक्षकले राजधानी अदिस अबाबामा गोली हानी हत्या गरेको छ । उनी र अर्का एक अधिकारी मिलेर देशको उत्तरी भागमा रहेको अमहारा क्षेत्रमा सैन्य कूको प्रयास रोक्न खोजिरहेको बेलामा उनको हत्या भएको प्रधानमन्त्री अबी अहमदले जनाए ।
अमहारामै क्षेत्रीय गभर्नर अम्बाच्यु मेकोन्नेन र उनका एक सल्लाहकारको हत्या भएको छ । दोषीहरूलाई पक्राउ गरेपछि परिस्थिति नियन्त्रणमा रहेको सरकारले जनाएको छ । प्रधानमन्त्रीले टेलिभिजन सम्बोधन गरेर देशलाई विभाजन गर्न खोज्ने खराब शक्तिहरूविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

















