काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको अभिव्यक्ति दिएका छन् ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गृहमन्त्री बादलले गरेका हुन । आइतबारको राज्यव्यवस्था समितिको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको आफूले सुनेको भन्दै सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने जनाएका थिए ।
पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले उनलाई मुठभेडमा मारिएको जनाउँदै आएको छ । राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’
मन्त्री थापाका अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी पनि मन्त्री थापाले गराए । साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ ।
सरकारले पौडेल मुठभेडमा मारिएको जनाउँदै आए पनि सत्तारुढ दलकै सांसदहरुले त्यसको सत्यतामा शंका गर्दै आएका छन् ।



















[…] कुमार पौडेल हत्याबारे गृहमन्त्री थाप… […]