प्रतिलिपि अधिकार ऐनले गरेको विवाद समाधानबारे

444
Nisha Tamang

– निशा तामाङ

विगत केही समयदेखि सबैको मुखमा गुनगुनाउने धुन बनेको छ –‘गलबन्दी च्यातियो तिमीले तानेर’ । छोटो अवधिमै धेरै चर्चा पाएको यो गीतले धेरैको मन जित्न सफल भएको छ । नेपाली सांगितिक इतिहासमै छोटो समयमै डेढ करोड दर्शक बनाउन सफल भएको यो गीतको चर्चासंगै विवादमा पनि तानिएको छ । गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ विवादमा तानिनुको कारण रहेको छ गायक प्रकाश सपुतले गाएको ‘गलबन्दी’ गीतको लय आफ्नो सृजना भएको जनाउँदै आफ्नो गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिलेको भनेर वरिष्ठ लोक गायक शम्भु राईले साञ्चारमाध्यममा प्रतिलिपि अधिकार हनन् भएको बारे मुद्दा दायर गरेका थिए । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा राईले मुद्दा दर्ता गराएका थिए । सम्भू राईले गीतको लय आफ्नो हो भनेका छन् । हाल उक्त विवदको सहमति भएको छ । विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।

सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ । मानव हितका लागि मौलिक एवम् बौद्धिकरूपले सिर्जना गरिएका रचना, प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकारको रूपमा लिइन्छ । आफ्नो रचनामा कानूनद्वारा तोकिएको अवधिभर आफ्नो रचनाको आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने ‘आर्थिक अधिकार’ र आफ्नो ख्याति वा सम्मान सुरक्षित राख्ने नैतिक अधिकार हुन्छ । आधिकारिक व्यक्तिबाट तिनलाई रेकर्ड, छायाङ्कन वा अरू प्रकारले संरक्षण गरिएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिलिपि अधिकार स्थापित हुन सक्छ । सम्भू राईले ‘गलबन्दी’ गीतको सर्जकमा ‘शम्भु राई’ को नाम लेखेर प्रकाश सपुतलाई ‘पुनर्सर्जक’ का रूपमा उल्लेख गर्नुपर्ने राईको शर्त रहेको थियो । तर ‘गलबन्दी’का गायक प्रकाश सपूतले शम्भुका शर्त अस्विकार गर्दै आएका थिए । प्रस्तोता समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ, संगीतकार संघ लगायत विभिन्न संस्थामा गएर गायक सम्भू राईले परामर्श गर्दै आएको सुनिएको छ । परामर्श सकारात्मक बनेकोमा शुभकामना दिनैपर्छ

‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्यूअर्स’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो । राईले आफ्नो श्रृजना कपी भएको भन्दै विभिन्न समाचार माध्यममा अन्तरवार्ता दिइरहेका थिए । छोटो सामयमा ‘गलबन्दी’ गीतले पाएको चर्चा र सो गीतले गरेको कमाईको लोभले मात्र गायक शम्भू राईले आफ्नो भाका भएको दावी गरेको प्रकाश सपुतका समर्थकहरूले आरोप लगाएका थिए । प्रतिलिपि अधिकार हनन् भएको विरुद्ध बोल्नु के लोभ र लालचले हो त ? आफ्नो श्रृजनाको अधिकार आफूले प्राप्त गर्न किन नपाउनु ?

सुन्दा उस्तै लाग्ने शम्भू राईको भाकासँग सो गीतको भाका मेल खाएको छ । गायक प्रकाशले सायद यो गीत राईको गीत सुनेरै खराब नियतले बनाए भन्ने नलाग्न पनि सक्छ । संगीत बजार र त्यसमा पनि लोक लय कतै न कतै मेल खाएकै पाइन्छन् । राम्रा सर्जक र सिर्जना गर्ने सामथ्र्य भएकाहरूलाई निरुत्साहित गर्नु हुँदैन । स्रष्टाको सृजनामा प्रतिलिपि अधिकार संरक्षण हुन्छ । स्रष्टा तथा साधकको असीमित कल्पना, गहन सोचाइ र निरन्तर बौद्धिक प्रयासबाट मात्र सृजनाको उत्पति हुने हुँदा स्रष्टाको सृजना माथिको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता प्रदान गर्न प्रतिलिपि अधिकारले मानिसको मौलिक रचनात्मक कामको संरक्षण गर्दछ । यो विवाद समाधानले पनि प्रतिलिपि आधिकारको संरक्षण गर्दै सम्भु राईको लय रहेको उक्त गीतमा अधिकार प्राप्त गरेका छन् ।

अधिकारका बारे कुरा गरिरहँदा हामी सबैलाई थाहा नहुन सक्छ प्रतिलिपि अधिकारको बारेमा । प्रतिलिपि अधिकार भन्नाले कुनै रचनाको रचयितामा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिता बाहेक अन्य कुनै व्यक्ति वा संस्थामा मूल रूपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्था र आर्थिक अधिकारको स्वामित्व कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गरिएको भए त्यस्तो व्यक्ति वा संस्था सम्झनु पर्छ भनेर नेपालको प्रतिलिपि ऐन २०५९ ले व्यवस्था गरेको छ ।

प्रतिलिपी अधिकार ऐनले व्यवस्था गरे अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र, नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना–शब्द सहित वा शब्द रहित सांगीतिक रचना, श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य फोटोजन्य रचना, प्रयोगात्मक कला सम्बन्धी रचना, उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना कम्प्युटर प्रोग्राम लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ ।

यस अर्थमा यो सजिलै बुझ्न सकिन्छ कि कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सृजनालाई बौद्धिक सम्पत्ति मानिन्छ । संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सृजना बौद्धिक सम्पत्ति अन्तर्गत पर्छन् । हरेक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोगको नियन्त्रण गर्न सक्छन् । बौद्धिक सम्पत्तिलाई प्रतिलिपी अधिकारद्वारा सुरक्षित गरिएको हुन्छ । जसरी कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्व हुन्छ । यसैलाई बौद्धिक सम्पत्ति अधिकार भनिन्छ, त्यसको उपयोग गरेर पैसा कमाउन सकिन्छ । यस प्रकार बौद्धिक सम्पदाको अधिकारका कारण त्यो सम्पत्तिको सुरक्षा हुन्छ । जसका कारण मानिसहरू नयाँ खोज र श्रृजना गर्न उत्साहित भएर अगाडि बढ्ने समेत गर्दछन् ।

बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ । नेपालमा ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२’ तथा ‘प्रतिलिपी अधिकार ऐन २०५९’ ले यसलाई सुरक्षित गरेको छ । बौद्धिक सम्पत्तिमा नेपाल सरकारले ७ वटा क्षेत्र थपेको छ । जस अनुसार भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन् । यस अघी प्रतिलिपि, ट्रेडमार्क, डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए ।
अहिलेको २१ औं शताब्दीको युगमा आइपुग्दा मानिसको बौद्धिकता र चेतनास्तर बढ्दै जाँदा एक अर्कामा मिल्ने विषयहरूमा आफ्नो हक अधिकार सुरक्षित गर्न बौद्धिक सम्पतिको अधिकार सबैका लागि अपरिहार्य भएको छ । मानिसको बौद्धिकस्तर बढे संगै मानिसमा हुने कला, सीप, लेख जस्तै ः कविता, कथा, उपन्यास वा गीत गजलजस्ता रचनाको कुरा छोडौं, कसैले चिठी लेख्दा, इमेल गर्दा, सामाजिक सञ्जाल चलाउँदा, फोटो लिँदा वा सेल्फी खिंच्दा, चित्र वा नक्सा कोर्दा तथा हस्तकलाका सामग्री बनाउँदा आफ्नो प्रतिलिपि अधिकार सृजना गरिरहेका हुन्छन् भने किताब पढ्दा, गीत सुन्दा, इन्टरनेटबाट कुनै सामग्री डाउनलोड गर्दा, फिल्म हेर्दा, कुनै छापा सामग्रीको छायाप्रति निकाल्दा अरूसंग मिल्ने हुँदा आफ्नो अधिकार सुरक्षित गर्न प्रतिलिपि अधिकारको प्रयोग गर्न आवश्यक हुन्छ । प्रतिलिपि अधिकारले आफूले सृजना गरेको आफूसंग भएको कला ,सीप अदिको संरक्षण गर्न मद्दत पुग्दछ ।

यस्ता कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनीअंकित प्रस्तुति तथा प्रसारणको अधिकारको प्रभावकारी संरक्षण सम्बद्र्धन र विकास गर्न लागिपरेको नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले प्रतिलिपि अधिकारको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक छानबिन र कारवाही गर्नु आवश्यक देखिन्छ, यस्ता विवाद आइरहने अवस्थाको अन्त्य जरुरी छ । यो विवाद समाधानले प्रतिलिपि अधिकारको रक्षा गरेको छ । आउँदा दिनहरुमा थप विवाद नहोस् यसबारे प्रतिलिपि अधिकार ऐनले सशक्त कानुन बनाउन ध्यान दिनु जरुरी देखिन्छ ।

(लेखक कानुन स्नातक तहको विद्यार्थी हुन् ।) – [email protected] -जनधारणा साप्ताहिक

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here