‘धर्तीमाता’लाई ७ दिन थुनामा राख्ने

95

काठमाडौं– काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ ।

शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो ।

कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो ।

काठमाडौं प्रहरीको मुद्दा शाखाका एक अनुसन्धान अधिकृतका अनुसार पीडितले किटानी जाहेरी दिएको भए मुलुकी अपराध संहितामा भएको व्यवस्था बोक्सी आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा मुद्दा चल्न सक्थ्यो । जुन अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्थ्यो ।

तर, भिडियोमा देखिएकी पीडित महिला नभेटिएपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अभद्र व्यवहारको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

कुँवरले सार्वजनिक स्थानमा युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’, ‘तेरो मासु खाम्ला, मलाई चिन्’ जस्ता शब्दको प्रयोग गरेर गाली गर्दै कुटपिट गरेकी थिइन् ।

प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको विषयचाहिँ जनाउन छाडेकी छैनन् ।

उनले भनेकी छन्, ‘मलाई साढे २ वर्षदेखि नै देउता चढ्न थालेको हो । ममा शक्ति आएपछि के गर्छु, थाहै हुँदैन ।’ प्रहरीले पक्राउ गरेर आफूलाई दुःख दिएको समेत उनले दाबी गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here