सत्तासीन नेकपाको एकता, ‘कागलाई बेल पाक्यो हर्ष न विश्मात’ जस्तै

349

-निमकान्त पाण्डे
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाको पार्टी एकीकरण प्रक्रिया अझै पनि टुंगिन सकिरहेको छैन । पार्टी एकता घोषणा भएको एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नेकपा पूर्ण रूपमा एक हुन सकेको छैन । बरु पार्टी एकीकरणको प्रक्रिया पुरा नहुँदै एकीकरण नै पुरा नुहुने हो कि भन्ने आशंकाहरू पैदा हुन थालेका छन् । पार्टीमा पछिल्लो समय देखिन थालेको वैचारिक ध्रुवीकरणले यसको भविष्य के हुने भन्ने कुरामा समेत अन्योलता र आशंकाहरू देखापर्न थालेका छन् ।

दुई कम्यिुनिस्टबीच एकता भइ बनेको शक्तिशाली नेकपा सरकार र पार्टी दुवै हिसाबले शक्तिशाली बनेकाले सुरुमा आम जनतामा ठूलो अपेक्षा र आशा समेत जागेको थियो । सरकार बनेको डेढ वर्ष र पार्टी एकीकरणको एक वर्षभन्दा बढी समय भइसक्दा पनि जनतामा आशा जगाउने किसिमका गतिविधि गर्न असफल भएपछि नेकपाबाट जनताको अपेक्षा निराशामा परिणत हुँदै गइरहेको छ । कम्युनिस्टको एकताबाट जनताको दैनिक जीवनमै परिवर्तन हुनसक्ने अपेक्षासहित नेकपाको दीर्घकालीन एकता र भलो चाहने जनतामा अपेक्षा विपरित जनताविरोधी गतिविधि हुन थालेपछि जनताको नजरबाट नेकपा विस्तारै टाढिन थालेको देखिन्छ ।

यसको एउटा उदाहरण पार्टी एकताका बेला जनतामा देखिएको उत्साह र चासो अहिले देखिदैन, यो नै हो । अहिले पार्टीेमा विवाद सिर्जना हुँदा समेत जनताले त्यसलाई वेवास्ता गर्न थालेका छन् । नेकपाको एकता वा विवादबाट जनताको जीवनस्तरमा कुनै फरक नपर्ने अवस्था आएपछि जनताले नेकपालाई वेवास्ता गर्न थालेका हुन् । नेकपाको एकताबाट मुलुक र जनताले ठूलै उपलब्धि हात पार्ने अपेक्षा गरेका जनतामा एकताबाट आशा भन्दा निराशा बढी हुन थालेपछि जनतामा सत्तासीन नेकपाप्रति सदभाव भन्दा पनि आक्रोशका स्वरहरू सुनिन थालेका छन् । जसले गर्दा विगतमा जनताका लागि एकता आवश्यक रहेको भन्दै अएका नेकपाका नेताहरू एकताको औचित्य पुष्टि गर्न नसकी आ–आफ्नै गुटको बैठक सुरु गर्न थालेका छन् । ठूलो दलको सरकार हुँदा विगतमा आम जनता र खासगरी किसानले भोग्दै आइरहेका समस्याबाट छुटकारा मिल्ला, जनताले राहत महसुस गर्लान भन्ने आम अपेक्षालाई ठूलो र शक्तिशाली दलको शक्तिशाली सरकारले समेत सम्बोधन नगरी व्यक्तिगत र राजनीतिक स्वार्थलाई प्राथमिकता दिएपछि जनतामा चरम निराशाको अवस्था सृजना भएको छ । यो अवस्थाले गर्दा हाल फरक–फरक कित्तामा अघी बढ्न खोजिरहेको नेकपाप्रति कतैबाट पनि सदभाव र सहानुभूतिको अवस्था देखिदैन । आफैले मत दिएर ठूलो दल बनाएका जनतामा नै उक्त दलप्रतिको भरोसा टुटेपछि उक्त दलको एकता वा विवादसँग जनताले चासो राख्ने कुरा पनि भएन । तर यसको नतिजा भने निकै नमिठो हुने निश्चित छ । अहिले सत्ता र शक्तिको मातमा जनताका अपेक्षाहरूप्रति कुठाराघात गर्ने राजनीतिक दललाई प्रजातान्त्रिक प्रणाली अन्तर्गतको निर्वाचन प्रक्रियामा जनताले सजाय दिने निश्चित छ । त्यतिबेला भने अहिलेको ठूलो भनिएको दललाई निकै ठूलो झड्का लाग्ने निश्चित छ ।

नेकपाको एकताबाट जनताले अहिलेसम्म के उपलब्धि प्राप्त गरे ? किसानलाई बिउ र मलको समस्या उस्तै छ, महंगी नियन्त्रण भएन, भ्रष्ट र दलाललाई किन राजनीतिक संरक्षण भयो ? आम जनताको जीवनशैलीमा किन परिवर्तन भएन ? बेरोजगारी र गरिबी जस्ता जनताका ठूला चूनौतिहरू समाधानका लागि किन प्रयास भएन ? के नेकपाको एकतापछि बनेको शक्तिशाली र स्थायी सरकारले यस्ता विषयलाई सम्बोधन गर्न सक्दैनथ्यो ? यसतर्फ ध्यान पु¥याइएको भए अवश्य सक्दथ्यो । जब जनताभन्दा व्यक्तिगत स्वार्थले नेकपाको एकता प्रक्रियामा प्राथमिकता पायो, स्वभाविक रूपमा जनतामा आक्रोश र निराशा छाउनु स्वभाविक थियो । सबैभन्दा ठूलो दल नेकपाका गतिविधि, एकता र विवाद जस्ता विषय जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिश्मात’ जस्तै अवस्था भएको छ । विडम्बना ! नेकपाको नेतृत्वले भने जनताप्रतिको वेवास्तालाई गम्भिरताका साथ लिएको पाइदैन ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here