रातो कार्ड पाएका मेसीद्वारा कास्य पदक बहिस्कार

152

एजेन्सी /  कोपा अमेरिकाअन्तर्गत तेस्रो स्थानका लागि भएको आइतबार रातिको खेलमा अर्जेन्टिना साविक विजेता चिलीलाई हराउँदै तेस्रो भएको छ। निकै तनावपूर्ण खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो। लगातार दुई पटकसम्म कोपा अमेरिकाको फाइनलमा चिलीसँग भोग्नु परेको पराजयको बदला अर्जेन्टिनाले लिएको छ। अर्जेन्टिनाले १२औं मिनेटमा सर्जियो अग्युरोको गोलबाट अग्रता लिएको थियो। अग्युरोले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए। त्यसको १० मिनेटपछि २२औं मिनेटमा पाउलो डिवालले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए।

तर, खेलको ३७औं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सी र चिलीका कप्तान ग्यारी मेडलबीच भएको सामान्य ट्याकलले तनावको स्थिति लिएपछि दुवै जना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि दुवै टिम १०र१० जना खेलाडीमा सिमित भएका थिए।

दोस्रो हाफ पनि तनावपूर्ण भएको खेलमा ७ वटा पहँलो कार्ड र दुई वटा रातो कार्डको वर्षा भएको थियो। ५९औं मिनेटमा डिबक्सभित्र अर्जेन्टिनाले फउल गरेपछि चिलीले पेनाल्टी पाएको थियो। जसमा अर्टुरो भिडालले गोलमा गर्दै खेल २–१ को स्थितिमा झारेका थिए।

त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन। २–१ गोल अन्तरले चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो भयो। तेस्रो भएपछि प्राप्त कास्य पदक अर्जेन्टिनाका कप्तान मेस्सीले बहिस्कार गरेका छन्। रातो कार्ड खाँदै बाहिरिएपछि उनले खेलमा रेफ्रीले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै पदक बहिस्कार गरेका छन् । उनले ब्राजिलविरुद्धको खेलमा पनि रेफ्रीले अर्जेन्टिनाका पक्षमा आग्रहपूर्ण तवरमा खेल खेलाएकोतर्फ संकेत गरे। मेसीले जीवनकै दोस्रो रातो कार्ड पाएका हुन्। उनले यसअघि डेब्यु खेलमा रातो कार्ड खाँदै मैदान छोड्नु परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here