काठमाडौं / टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थाका गजुरी हस्पिटल, धादिङ्गबाट रिफर गरी गत बिहिबार नर्भिक इन्टरनेशनल हस्पिटल ल्याइएको ३६ बर्षिय रामजी चेपाङ्गको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।
अस्पतालका अनसार कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको निजको बरिष्ठ स्नायु शल्य चिकित्सक प्रा .डा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएका मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिए भने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो ।
टाउकोका खप्परको हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्ली समेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेको र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपष्ट रहेको अवस्थामा मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउँदै, मस्तिष्क भित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर, मस्तिष्क बाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफल शल्यक्रिया उपचार गरियो ।
चेपाङ्गलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिएको थियो भने असार १९ गते विहिबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो ।
सोही दिन अर्थात् असार १९ गते निजको शल्यक्रिया सम्पन्न भएको हो । हाल रामजी चेपाङ्ग नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा स्वास्थ्य लाभ गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई छिटै वार्डमा सारिदैछ ।
निजलाई गोली लाग्ने वित्तिकै स्थानीय चेपाङ्ग सामाजिक कार्यकर्ता विनोद चेपाङ्गको सक्रियतामा सोही राति धादिङ्ग स्थित गजुरी हस्पिटल पु¥याइएको थियो । गजुरी हस्पिटलमा रक्तस्राव रोक्न ब्याण्डेज लगाइएपश्चात्त अक्सिजनसहित उक्त हस्पिटलले विरामीलाई काठमाडौं रिफर गरेको थियो ।


















