हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित कर्णाली नदीमा खसेको जीपसहित १० जना यात्रुमध्ये २२ दिनपछि एक जनाको शव भेटिएको छ। अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले जानकारी दिएका छन् । कर्णाली नदीमा भेटिएको शव खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको रहेको उनले जनाए । असार ३ गते खार्पुनाथ गाउँपालिका बेडुबिसौनानजिकै रहेको कच्ची सडकबाट १९ मिटर तल कर्णाली नदीमा जीप खसेको थियो।
खार्पुनाथदेखि ४५ कोष टाढा दक्षिणमा रहेको सर्केगाढ गाउँपालिका ४, दुल्ली र मुन्डीस्थित नागरा भन्ने स्थानमा उपाध्यक्ष हमालको शब भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भन्नुभयो । कर्णाली नदीकै छेउमा भेटिएको शव भेटिएको सूचना पाएलगत्तै हेलिकोप्टरमार्फत् प्रजिअ ढंकाल, प्रहरी, मृतक आफन्तलगायतको टोली शव भएको स्थानमा पुगेको थियो। आज बुधबार नै पोष्टमार्टमपछि शव उपाध्यक्षकै श्रीमानलाई बुझाई हिन्दुधर्म संस्कारअनुसार दाससंस्कार गरिएको प्रजिअ ढकालले भन्नुभयो । गोताखोरको टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले हप्तौदिन खोजीकार्य गरेका थिए। प्रहरीले दिएको जानकारीअनुसार अझै ९ जना बेपत्ता जानकारी दियो ।


















