काठमाडौं- सर्वोच्च अदालतको आदेश र चौतर्फी जनविरोधपछि सरकारले काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ ।
एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षणबाट सरकार पछि हटेको थियो । भारतीय दवावमा सरकारले बिषादी परीक्षण रोकेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो । सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा विहीबार माफी पनि मागेका छन् ।
चौतर्फी विरोधपछि बुधवार साँझदेखि भैरहवाको बेलियानाकामा बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ ।
यता शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे । उनले त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे । खनालले तरकारी र फलफुल परीक्षणको रिपोट तीन दिनभित्र दिने निर्देशन दिएका छन् ।


















